सुन्तला बगानमै व्यापारीको भीड

सुन्तला बगानमै व्यापारीको भीड

बागलुङ : ‘केही वर्ष अघिसम्म सुन्तलाखेती गरे पनि बजार अभाव थियो। उत्पादन राम्रो भए पनि बिक्रीका लागि ठूलै सकस बेहोर्नुपर्थ्यो ’, बागलुङ नगरपालिका-८ सिगानामा लामो समयदेखि व्यावसायिक सुन्तलाखेती गरेका अनन्त खड्का भन्छन्, ‘पहिले बाटो राम्रो थिएन, बजार थिएन। डोकोमै बोकेर कति बिक्री गर्न सकिन्थ्यो र? अहिले भने बाटो र बजार राम्रो छ।’ अहिले होलसेल व्यापारी घरघरमै आउने गरेका छन्।

गत वर्ष सिगानाबाट झण्डै एक करोडको सुन्तला निर्यात भएको थियो। यो सिजनमा उत्पादन बढेको किसानले बताएका छन्। अहिले पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत स्थानबाट व्यापारी सुन्तला खरिदका लागि आइरहेको अगुवा कृषक टोपबहादुर खड्काले बताए। यस सिजनको गाउँमा उत्पादित अधिकांश सुन्तला पोखरा निर्यात भइरहेको उनले बताए। गाउँमा पहिलोपटक विभिन्न जातको सुन्तला तथा अन्य व्यावसायिक खेती गरेका खड्काले एकै बोटमा २७ हजार रुपैयाँको सुन्तला फलाएका छन्। एउटा बोटको सुन्तलालाई बढीमा २७ हजार रुपैयाँमा होलसेल बिक्री गरेको उनले बताए। अहिले सिगाना गाउँभरी सुन्तलाको व्यावसायिक खेती छ।

बागलुङ नगरपालिका-८ सिगानाका किसानले यो वर्ष दुई करोडभन्दा बढीको सुन्तला बजारमा जाने आकलन गरेका छन्। सुन्तला बगैंचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको खड्काले बताए। सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा यो वर्ष ३० देखि ४० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको किसान बताउँछन्।

सिगानामा अहिले प्रतिकिलो ५० का दरले सुन्तला बिक्री भइरहेको छ। सिगानामा राम्रो फल लागिरहेका १२ हजार सुन्तलाका बोट छन्। यसमध्ये बढीमा एक बोटबाट २८ हजार ७ सयदेखि घटीमा १० हजार रुपैयाँका हिसाबले आम्दानी हुँदै आएको बानपा ८ का वडाध्यक्ष राजन जीसीले जानकारी दिए। ‘बगैंचा व्यवस्थापनका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो’, जीसीले भने, ‘सुन्तलाको व्यावसायिक खेतीले परनिर्भरता घटेको छ, पैसा कमाउन विदेश जानुपर्छ भन्ने सोच विस्तारै हट्दै गएको छ।’

वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा अनुदानमा वितरण गर्दै आएको छ। वडाध्यक्ष जीसीका अनुसार नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ।

अनुकूल हावापानी भएका कारण सुन्तला रोपेको ३ वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताए। चार वर्ष अगाडि लगाएको बोटबाटै १० हजार बराबरको सुन्तला बिक्री भएको उनले बताए। खड्काको बगैंचामा एक सय सुन्तलाका बोट छन्। सिगानाका अधिकांश कृषक सुन्तलाखेतीमा आकर्षित हुन थालेका छन्। अहिले झण्डै २० देखि २५ हजार सुन्तलाका नयाँ बिरुवा वडा कार्यालयमार्फत वितरण गरिसकेको छ। सिगानाका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम पाँच लाखदेखि न्यूनतम ७० हजार कमाउँदै आएका छन्।

सिगानामा सुन्तला भण्डारणका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको ३० लाख लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरिएको छ। चिस्यान केन्द्रमा राखेका सुन्तलालाई बेमौसममा प्रतिकेजी १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ। सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ। सुन्तला खेतीका लागि सिगाना उर्वर मानिन्छ।

अन्नबालीभन्दा सुन्तलाखेती गर्दा नगद आम्दानी हुन थालेकाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन्। सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन्। जिल्लामा करिब ५ हजार हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्बतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.