११ वर्षदेखि दाम्लोमा !
बागलुङ : निसीखोला गाउँपालिका ७ राजकुत कुडुँला गाउँका १४ वर्षीय टिका लोक्चाङ तामाङलाई दाम्लोले बाँधेर नियन्त्रणमा राखिएको छ।तामाङलाई आफ्नै अभिभावकले ११ वर्षदेखि घरमा बाँधेर राखेका छन्।
शारीरिक अपाङ्गता भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीय बताउँछन् । उनमा जन्मजातै शारीरिक तथा मानसिक समस्या भएको टिकाका बुवा मनी लोक्चान बताउँछन् । बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलाई बाँधेको डोरी खोल्दिने बित्तिकै पल्टने, घरमा राखिएका सामानहरु फ्याकिदिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटक लाग्ने डरले बाँधेर राख्ने गरेको मनी बताउँछन् ।
उनका अनुसार टिकाले दिसा पिसाब समेत सही ठाउँमा नगर्ने भएकाले बाँधेर राख्न थालिएको हो । 'बच्चाको शरीर ठिक छैन, उसलाई हेर्न एकजना दिनभर कुरुवा बस्ने चाहिन्छ। घरको काम पनि गर्नै पर्यो, 'मनीले भने, 'कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन।' 
रातको समयमा बोकेर घरभित्र लैजाने भए पनि दिनमा घरको पिढीमा बाँधेर राख्दै आएको टीकाकी आमा सुकिला लोक्चान तामाङले बताइन् । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा हुन् । परिवारको जिविकाका लागि खेतबारी, कुटो कोदालो गर्नुपर्ने भएकाले बाधेर राखेको उनको भनाई छ । 'छोराको उपचार गर्न पाल्पाको प्रवास अस्पतालमा लगेको थिए, चार÷पाँच लाख रुपैयाँ खर्च समेत गरे, उपचार भएन,' सुकिला भन्छिन्, 'उपचारमा सम्लग्न डाक्टरले उपचार गर्न प्रयास गरेपनि सफल भएन्, असर्मथ भएको जानकारी दिएपछि फिर्ता ल्याए।'
ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आशा भएपनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राख्न विवश भएको टीकाकी आमा सुकिला बताउँछन्।
तामाङ परिवारको पाँच सन्तान मध्ये टीका दोस्रो सन्तान हुन् । हालै गाउँपालिकाले अपाङ्गता परिचयपत्र बनाएर महिनाको तीन हजार अपांगता भत्ता बाहेक अरु केही सहयोग नपाएको परिवारको गुनासो छ ।
निसीखोला ७ का वडा अध्यक्ष तेजेन्द्र बिक्रम कुवरले मानव अधिकारका हिसाबले दाम्लोमा बाँध्ने कार्य गलत भए पनि केही गर्न नसकिएको बताए ।'अपांगता हुनु कुनै अपराध होइन, त्यो परिवारलाई पनि थाहा छ, हामीलाई पनि जगजाहेर छ,' अध्यक्ष कुवरले भने, 'तर परिवारको बाध्यतामा हाम्ले वडा स्तरबाट केही गर्न सक्ने अवस्था छैन, माथिल्ला निकायबाटै केही पहल गरिदिए हुन्थ्यो ।'
प्रतिक्रिया दिनुहोस !