भ्रमण वर्ष : तयारी र पूर्वाधार फितलो

भ्रमण वर्ष : तयारी र पूर्वाधार फितलो

भैरहवा : नेपाल भ्रमण वर्ष २०२० सुरु हुन २ दिन मात्र बाँकी छ। तर, स्थानीय स्तरमा तयारी र पूर्वाधार ‘शून्य’ छ। पैदलमार्ग हुँदै रूपन्देहीको बेलहिया नाकाबाट सबैभन्दा बढी पर्यटक भित्रिन्छन्। तर, यहाँको अवस्था दर्दनाक छ।

पर्यटकको सहज व्यवस्थापन, यातायातलगायत अन्य कुनै सुविधा उपलब्ध हुने सुरसार छैन। बुङबुङती उड्ने धुलोले पर्यटक अध्यागमनमै आतिन्छन्। नाका थुनेर भिसा फारम भर्छन्। जताततै फोहोर, सवारीको चाप र ध्वनी प्रदुषण उस्तै छ। धुलोले सडक किनारका हरियो फूलबिरुवा छोपिएका छन्। स्थानीय सिद्धार्थनगर नगरपालिकालाई वास्ता छैन।

‘पर्यटक आएलगत्तै नाकाको अवस्थामा देखेर आत्तिन्छन्’, ट्याक्सी चालक राजकुमार रन्जनले भने, ‘यहाँ बाहिर एकछिन पनि रोकिन चाहँदैनन्, छिटो होटल पुर्‍याउ भन्छन्।’

निर्माणाधीन सडकखण्डले नाकाको अवस्था झनै बेहाल छ। धुलोले पीडित स्थानीयले केही महिनाअघि नाकामा चक्काजाम नै गरे। नेता–मन्त्रीले सडकको विषयमा आश्वासन दिँदै आएका छन्। तर, पनि ठेकेदारको काममा सुधार आएको छैन।

ठेकेदारको लापर्बाहीले स्थानीय र पर्यटक पीडित रहेको बेलहियाका स्थानीय गोपाल थापाले बताए। ‘बुङबुङती उड्ने धुलोले हिँड्डुल, व्यापार, बजार गर्न धेरै समस्या छ’, उनले भने, ‘रातिको समयमा त झनै बिजोग हुन्छ।’

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई भेट्याउन सरकारले प्रत्येक दिन ५ हजार ४ सय ८० पर्यटक भिœयाउनुपर्छ। तर, सरकारलाई कुन देशबाट कति पर्यटक आउने भन्ने यकिन अनुमान छैन। वर्षलाई सफल बनाउन प्रत्येक महिनाको योजनाअनुसार कार्यक्रम हुनुपर्नेमा संघीय र प्रदेश सरकारका मन्त्रीको भाषणबाहेक कुनै ठोस काम देखिएको छैन। प्रदेश ५ सरकारले पनि २०७६ वर्षलाई लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ।

बेलहिया नाकाबाट बर्सेनि करिब डेढ लाख तेस्रो मुलुकका पर्यटक भित्रिन्छन्। यस नाकाबाट आउने अधिकांश पर्यटक लुम्बिनी भ्रमणका लागि आउने गर्छन्। भौतिक पूर्वाधारको अभावले पर्यटकले समस्या भोग्नु परेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनाल बताउँछन्। ‘धुलोले खुला वातावरणमा बस्ने स्थिति छैन’, उनी भन्छन्, ‘भिसा प्रक्रियाको कागज बुझाएर गाडीभित्रै बस्छन्।’

लुम्बिनी भ्रमण वर्ष मनाइरहेको प्रदेश सरकार र भ्रमण वर्ष मनाउन लागेको संघीय सरकारसँग पर्यटकको बसाइ लम्ब्याउन कुनै योजना छैन। हालै गरिएको एक अध्ययनअनुसार लुम्बिनी आएका पर्यटक औसतमा करिब ३० मिनेट मात्र बस्छन्। सरकारले भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकको बसाइ लम्ब्याउन कुनै योजना नल्याएको होटल व्यासायी बताउँछन्।

भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी पुग्न सहज छैन। निर्माणाधीन लुम्बिनी सडकखण्डको धुलो र यत्रतत्र छरिएका निर्माण सामग्रीले पर्यटक लुम्बिनी नपुगी फर्किने मनस्थितिमा पुग्छन्। बुङबुङती उड्ने धुलोले लुम्बिनी यात्रा निकै कठिनपूर्ण छ। लुम्बिनी मार्गमा निर्माणाधीन पुल अलपत्र छ। सञ्चालनमा रहेको जीर्ण पुलबाट एक पटकमा एउटा गाडी मात्र जान्छ। जाम लामो हुन्छ। पर्यटक जाममा पर्छन्।

‘लुम्बिनी पुग्न यातायातको राम्रो व्यवस्था छैन र सडक अवस्था पनि ठिक छैन’, निकै कठिनाइका साथ लुम्बिनी पुगेको बताउँदै ब्राजिलका रिक अलमिडाले अन्नपूर्णसँग भने, ‘जसो तसो यहाँ पुगे पनि लुम्बिनी र बुद्धको बारेमा जानकारी पाउने कुनै कार्यक्रम नहनु दुःखद् लाग्यो।’ उनले थपे, ‘लुम्बिनी शान्त छ, राम्रो पनि छ तर हामी यहाँ केही दिन बस्न गुम्बा मन्दिरको अवलोकन गर्नुबाहेक केही देखिएन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.