प्रहरी विरुद्ध ट्याक्टर चालकको प्रदर्शन र नारावाजी
वीरगन्ज : बालुवा लोड गरी भारत तस्करी गर्न लागिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर चालक, ट्याक्टर धनी र उनका आफन्तले आइतबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।
प्रहरीले ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको विरोधमा उनीहरुले जुलुस निकालेर प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति कार्यालय अगाडि नारावाजी गरेका थिए ।
आइतबार बिहान घण्टाघर चोकमा भेला भएका टयाक्टरका चालक र ट्याक्टर धनीहरुले जुलुस र नारावाजी गर्दै जिल्ल प्रशासन कायर्यालय अगाडि धर्ना समेत दिए । तर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नभेटिएपछि त्यहाँबाट नारावाजी गर्दै फर्किएर जिल्ला समन्वय समिति कार्यालय अगाडि पुगेर घेराउ गर्दै साँझसम्म धर्ना दिए ।
गत शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट बालुवा लोड गरिएका ६ वटा ट्याक्टर सहित चालकहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतमा अवैध रुपमा बालुवा चोरी निकासी गर्न लागिएको भन्दै प्रहरीले ट्याक्टर सहित ट्याक्टर चालक वीरगन्ज ३१ बेल्वाका शेख जावेद, शेख जफरुदिन, रघुनन्दन साह, वीर लक्ष्मण साह कानु, शेख सद्दाम र मोहमद कलामुदीनलाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिइएका ट्याक्टर कारवाहीका लागि प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझाइसकेको छ । चालकहरुलाई भने प्रहरीले शुक्रबार नै छाडेको थियो । नेपालका खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ट्याक्टरमा लोड गरी भारततर्फ चोरी निकासी गरेर लैजाँदै गरेको अवस्थामा बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
तर ट्याक्टरका चालक र धनीले भने बाराको बकुलियास्थित दुधौरा खोलाबाट प्रति ट्याक्टर ८ सय २५ रुपैयाँको रसिद काटेर बालुवा लिएर वीरगन्जको नगवामा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले तस्करी गर्न लागेको भनी नियन्त्रणमा लिएको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !