न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु
![न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Shreejan-Panthi-10_20200108052210_7FidpDrLws.jpg)
अमेरिका : न्यूयोर्कमा मंगलबार बिहान सडक दुर्घटनामा घाइते भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृत्यु भएको छ । पन्थी मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
छोरालाई विद्यालय पुर्याउन गएकी उनकी आमा मिना पन्थी घाइते भएकी छन्। उनको खुट्टामा गहिरो चोट लागेको बताइएको छ । घाइतेलाई तत्कालै नजिकैको अस्पताल पुर्याइएको थियो । स्थानीय प्रहरीका अनुसार, बाटो काट्ने क्रममा आमाछोरालाई उनीहरु बस्ने भवन अघिल्तिरकै बाटो कुइन्स कोरोनास्थित ५७ एभिन्यू र ९७ स्ट्रिटको बीचमा ट्रकले ठक्कर दिएको थियो। ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय समाजसेवी पुरुषोत्तम पन्थीकी श्रीमती मिनाको स्थानीइ एल्मष्ट अस्पतालमा उपचार भइरहेको छ ।उनको खुट्टाको शल्यक्रिया गरिएको र अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ।
नेपालमा बुटवल घर भएका पन्थी परिवार न्यूयोर्कको कुइन्सस्थित लेफ्राकसिटी भवनमा बस्दै आएका छन् । दुर्घटना पछि न्यूयोर्क सिटीका मेयर बिल डे ब्लाजिओ तथा न्यूयोर्क सिटी काउन्सिल स्पिकर कोरी जोन्सनले दुर्घटनामा दु:ख व्यक्त गर्दै घटनाको छानविन भइरहेको जनाएका छन् ।
स्थानीय संघ संस्थाले दुर्घटनामा ज्यान गुमाएका बालक श्रीजलप्रति चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)