भ्रमण वर्ष सफल पार्न हात्ती तथा जिप सफारी महोत्सव
वीरगन्ज : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पर्साको ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव हुने भएको छ।
पर्सा र चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको ठोरी गाउँपालिकाले सुर्वणपुरमा पुस २५ देखि २९ गतेसम्म पहिलो हात्ती तथा जिप सफारी महोत्सव हुन लागेको हो।
भ्रमण वर्ष सफल पार्न हात्ती तथा जिप सफारी महोत्सव हुन लागेको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए।
‘प्राकृतिक सम्पदाले भरिपूर्ण ठोरी गाउँपालिकामा थुप्रै पर्यटकीयस्थल छन्’, उनले भने, ‘यो हात्ती र जिप सफारी महोत्सवको माध्यमबाट प्रचार प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजनामा छौँ ।’
ठोरी ५ सुर्वणपुरस्थित गडुवालाइनमा आयोजाना हुने महोत्सवको उद्घाटन संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने तय भएको छ। सफारीमा निकुन्जमा दुलर्भ पाटेबाघ, हात्ती, गैंडाका साथै चित्तल, निलगाइ, हरिण, मृग, बँदेल, चराचुरुङगीलगायतका जीवजनावर रहेकाले सफारीका क्रममा पर्यटकले वन्यजन्तु देख्न पाउने उनले बताए।
महोत्सवमा हात्ती र जिप सफारीका लागि नेपालीलाई ६ सय र विदेशीलाई ११ सय रुपैयाँ शुल्क निर्धारण भएको उनले बताए। ५ दिने हात्ती र जिप सफारी महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकरको सहभागीतामा सांस्कृतिक कार्यक्रम, नेपाल र भारतका नाम चलेका कुस्ती खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक सातामा दुई सय पर्यटकलाई राख्न सकिने प्रबन्ध मिलाएको श्रेष्ठले बताए।
महोत्सव आयोजनामा कुल २० लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिकाले महोत्सवका लागि १२ लाख रुपैयाँ छुट्याएको छ।
बुधबार भएको पत्रकार सम्मेलनमा ठोरी ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल, पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र साहको पनि उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !