आफैले बोकेको बन्दुकको छर्रा लागेर मृत्यु
बागलुङ : जिल्लाको तमानखोलामा आफैले बोकेको भरुवा बन्दुकको छर्रा लागेर एकजनाको ज्यान गएको छ । तमानखोला गाउँपालिका १ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई बिहीबार आफैले बोकेको बन्दुकको छर्राले लागेको थियो। बन्दुकको छर्राले लागेर गम्भीर घाइते भएका घर्तीलाई उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुरक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयले बताएका छन्।
उनको बायाँ हात, खुट्टा र पिडौंलामा गहिरो चोट लागेको थियो । घटनालगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइए पनि राती पौने नौ बजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालय बुतिबाङबाट प्रहरी टोली खटाएर अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक लाइसेन्स प्राप्त भए नभएको विषयमा समेत प्रहरीले खोजी थालेको छ ।
मृतक घर्तीको शव अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । आवश्यक अनुसन्धान र पोष्टमार्टम शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !