सभामुख ? ‘हाम्रा’मा किचलो
काठमाडौं : नेतृत्वले राम्रालाई भन्दा ‘हाम्रा’लाई सभामुख बनाउन दबाब बढाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यो विषय पेचिलो बनेको छ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिलेसम्म सहमति हुन सकेको छैन्।
ओली–प्रचण्डबीच सभामुखमा विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको ‘इन्ट्री’ भएको छ। पूर्वएमालेबाटै सभामुख बनाउन दबाब दिने उद्देश्यले यो विषयमा राष्ट्रपति भण्डारीको ‘इन्ट्री’ भएको पूर्वमाओवादी नेताको बुझाइ छ।
भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई अगाडि सारेपछि पूर्वमाओवादी नेताले अध्यक्ष प्रचण्डलाई भेटेर सभामुख पद पूर्वमाओवादीले नै पाउनुपर्ने दबाब दिए। नेताको दबाब लगत्तै पूर्वमाओवादी समूहका सबै नेतालाई सभामुखबारे प्रचण्डले एक ढिक्का बनाए।
सभामुखमा सहमति नहुँदा दुई पटक प्रनिधिसभा बैठक सूचना टाँसेर स्थगित भइसकेको छ।
सभामुख चयनकै विषयमा ओली र प्रचण्डले पटकपटक छलफल गरेका छन्। छलफलमा ओलीले पूर्वसभामुख सुवास नेम्वाङ र प्रचण्डले पूर्वमन्त्री अग्निप्रसाद सापकोटाको नाममा अडान दोहोर्याएका छन्। त्यसमाथि राष्ट्रपति भण्डारीको माया उपसभामुख शिवमायामाथि छ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेपछि असोजदेखि संसद सभामुखबिहीन छ। आफू निकट नेतालाई सभामुख बनाउनुपर्ने अडानले संसद ‘बन्धक’ छ। पुस ४ गतेदेखि सुरु भएको संसदको हिउँदे अधिवेशन नेतृत्वले निर्णय लिन नसक्दा सभामुखबिहिन बनेको हो। अध्यक्षद्वयको लडाईंले सभामुखमा सहमति नजुटेपटि संसद बैठक पनि दुई पटक (पुस ११ र १६ गते) सूचना टाँसेर स्थगित भएको हो।
‘उहाँहरुको भनाइ सुन्दा पनि अचम्म लाग्छ। यसभन्दा पहिले चाहिँ पार्टीको संगठनको एकता गर्दा भागबन्डा हुने, मन्त्रिमण्डलमा भाग लगाउने, सरकारी नियुक्तिमा भागबन्डा गर्ने अनि अहिले सभामुख चयनमा चाहिँ नहुने रे !’ प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘सभामुख चयन गर्दा चाहिँ पूर्वमाओवादी र पूर्वएमाले भन्ने नहुने रे क्या कुरा गर्नुहुन्छ उहाँहरु ? अचम्म लाग्छ ! कि त पहिलादेखि भागबन्डा नगरेको भए अहिले भन्न सुहाउँथ्यो, पहिला भटाभट भागबन्डा लगाउने अनि अहिले चाहिँ भागबन्डा गर्न नहुने भन्न सुहाउँदैन।’
शीर्ष नेताको भेटघाट
सभामुखमा सहमति जुटाउनका लागि प्रचण्डले बुधबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावलसँग वामदेव गौतम निवासमा छलफल गरेका थिए।
‘छलफलमा पहिलाको सहमति कार्यन्वयन गर्न ओलीले नमानेको भन्दै प्रचण्डले बिफ्रिङ गर्नुभयो’ प्रचण्डसँग नजिक रहेका एक नेताले भने ‘जहिले पनि सहमति कार्यन्वयन नगरेपछि त गाह्रो हुन्छ। जता पनि आफ्नो मान्छे मात्रै राख्नुपर्छ भन्ने त हुँदैन नि।’ नेकपाका स्थायी कमिटी सदस्य मणि थापा सभामुख चयनमा पूर्वमाओवादीभित्र समस्या नरहेको बताउँछन्।
‘हाम्रोबाट एकजना मात्रै हुनुहुन्छ, हामीमा कुनै समस्या छैन्। तर नेतृत्वले सहमति गर्नुपर्यो’ थापाले भने। पहिला सभामुख माओवादीबाटै भएकाले अहिले पनि माओवादीले नै पाउनुपर्ने उनको तर्क छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तुम्बाहाम्फेलाई बोलाएर ओली–प्रचण्डले छलफल गरेका छन्। छलफलमा तुम्बाहाङफेले आफू पनि सभामुखमा इच्छुक रहेको जनाउ दिएकी छन्। शुक्रबार उपसभामुखसँग छलफल सकेर ओली–प्रचण्डले पनि छलफल गरेका छन्। अहिलेसम्म छलफलको निष्कर्ष भने बाहिरिएको छैन।
आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकअघि सभामुखको टुंगो लगाउने तयारी शीर्ष नेताले गरेका छन्। नेकपाले सभामुख टुंगो लगाए बैठकअघि उपसभामुखले राजीनामा दिनुपर्नेछ।
संविधानको धारा ९१ ले निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने उल्लेख गरेको छ। त्यस्तै प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ। उपसभामुखसमेत नेकपाकै भएकाले सभामुख चयनका लागि राजीनामा दिएर शिवमायाले बाटो खोल्नुपर्नेछ। शीर्ष नेताले निर्णय गर्न नसक्दा उनको राजीनामा रोकिएको स्रोतको दाबी छ।
संविधानको धारा ९१ कै उपधारा (३) मा प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा नपर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !