प्रभावकारी बन्दै छोरी सुरक्षा खाता
प्रकाश उपाध्याय। जुम्ला : कर्णालीमा लागू गरिएको छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका सुरुवातीसँगै कार्यक्रम प्रभावकारी बन्दै गएको हो। जुम्ला कनकासुन्दरी गाउँपालिका–८ सञ्ज्यलवाडाकी शान्ति सञ्ज्याल साउन १३ गते छोरी जन्मिँदा दुःखी भइन्।
समाजमा छोराछोरीबीच हेरिने भेदभावले उनको मनामा अशान्ति छाएको थियो। अब सरकारले पनि छोरीको खाता खोलिदिने खबर पाएपछि उनी गाउँपालिका कार्यालय गइन्। गाउँपालिकाले छोरी र आमाको नाममा खाता खोलिदिँदै अब प्रत्येक महिना छोरीको नाममा ५ सय खातामा हालिदिने भनेपछि उनी खुसी हुँदै भनिन्, ‘छोरीका लागि कसैले केही नगरे पनि यही पैसाले आफ्नो पढाइ गर्ने भई।’
जुम्ला कनकासुन्दरी–८ की विष्णुमाया भट्टले पनि छोरीको खाता खोलेपछि खुसी व्यक्त गरिन्। गाउँपालिकामा आमा–छोरी कार्यक्रम सुरु भएपछि खाता खोल्न आउनेको संख्या बढ्दो छ।
कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले यो कार्यक्रमले कर्णालीमा रहेको गरिबी अन्त्य गर्ने बालविवाह, शिक्षामा पछाडि पर्नेलगायत समस्या समाधान गर्ने बताए। उनले चालु वर्ष साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैंक खाता हुने र उक्त खातामा गाउँपालिकाले पहिलो महिना एक हजार र बाँकी महिनाको ५ सयका दरले पैसा जम्मा गरिदिने जानकारी दिए। उक्त पैसा माध्यमिक तहसम्म पास नगरे, २० वर्ष उमेर नपुगी विवाह गरे नपाउने व्यवस्था छ।
यो कार्यक्रम कर्णाली प्रदेश सरकारले आर्थिक, सामाजिक सुरक्षाका साथै छोरी जन्मँदा गर्व गर्ने समाज बनाउन छोरी सुरक्षा कार्यक्रम लागू गरेको हो