नुवाकोटमा ४५ हल गोरु जुधाइँदै
नुवाकोट : नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ। प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ। नुवाकोटको यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ। तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका-३ मा ८ हल गोरु जुधाइने आयोजकले जानकारी दिएका छन्।
नुवाकोटको मात्रै नभई सिंगो नेपालकै पहिचान बनेको ऐतिहासिक गोरु जुधाई मेलालाई सभ्य, भव्य र सुरक्षित रुपमा सम्पन्न गरिने बनाइने तारुका माघेसंक्राति गोरु जुधाई संरक्षण समितिका अध्यक्ष भोजबहादुर भण्डारीले बताए।
मेलामा यस वर्ष बिहान १० बजेदेखि गोरु जुधाइ मेला सुरु भएको छ । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमा गोरु जुधाइ मेला सफल गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने छ। नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन सदियौदेखि गोरु जुधाइदै आएको छ। माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सो मेला सफल बनाउनका लागि सबै क्षेत्रलाई सहयोग गर्न अध्यक्ष भण्डारीले आग्रह गरे।
गोरु जुधाई मेला मौलिक संस्कृतिको रुपमा विकसित भएको छ। गोरु जुधाई मेलालाई २०६० सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ। नुवाकोटमा तारुकासँगै मात्रघेसंक्रान्तिका दिन बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !