राजिनामा दिन ढिला नगर्न तुम्बाहाम्फेलाई प्रवक्ता श्रेष्ठको आग्रह
गोरखा : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई यथासिघ्र राजिनामा दिएर सभामुख निर्वाचनको ढोका खोल्न आग्रह गरेका छन्। गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको कुराकानीमा नेता श्रेष्ठले सभामुखमा उम्मेद्वारी दिनका लागि उपसभामुखले राजिनामा दिनुको विकल्प नभएको दावी गरेका छन्।
‘सभामुखको उम्मेद्वार बन्नका लागि उपसभामुख पदबाट राजिनामा निश्चित हो’, श्रेष्ठले भने, ‘संविधानको मर्मलाई कानूनको विद्यार्थीसमेत हुनु भएको उपसभामुखले यो कुरा बुझ्नु भएको छ। उहाँले राजिनामा नदिए के गर्ने भन्ने कल्पना पनि हामीले गरेका छैनौं। त्यसैले उहाँले राजिनामा दिनैपर्छ र दिनुहुन्छ पनि।’ शिवमायाको राजिनामा नआएसम्म मुलुकले सभामुख नपाउने भएकाले यथासिघ्र राजनीतिक गाँठो फुकाउन उनले आग्रह गरे।
एमसीसी र सभामुख नियुक्ति विल्कुलै फरक कुरा भएकाले परस्पर सम्बन्ध नगराइदिन पनि प्रवक्ता श्रेष्ठले आग्रह गरे। ‘एमसीसी र सभामुखको निर्वाचनलाई जोड्नुको कुनै तुक छैन’, उनले भने, ‘एमसीसीको बारेमा पार्टीको स्थायी कमिटीको बैठकले राष्ट्रिय हित र वस्तुगत यथार्थलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिन्छ।’
एमसीसीबारे पहिलाको सरकारले निर्णय गरिसकेको र संसदबाट अनुमोदन गराउने चरणमा अहिले मुलुक रहेकाले त्यस बारेमा के गर्ने भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको उनले बताए। ‘पार्टीको सचिवालयले यस बारेमा राम्ररी बुझेर आवश्यक निर्णय गरोस् भनेर स्थायी समितिले निर्णय गरेको छ’, उनले भने, ‘पार्टीको सचिवालयले यसबारेमा छलफल गरेर निर्णय लिनेछ।’
प्रतिक्रिया दिनुहोस !