घान्द्रुक–घोडेपानीमा पर्यटक बढे
बेनी : घान्द्रुक र घोडेपानी क्षेत्रका पर्यटकीय स्थलमा एक वर्षमा एक लाख पर्यटक भित्रिएका छन्। घान्द्रुक कास्की र घोडेपानी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय घान्द्रुकका अनुसार सन् २०१९ मा १ लाख ५ हजार ४ सय १३ जना पर्यटक भित्रिएका हुन्।
म्याग्दीको घारखोला, कास्कीको वीरेठाटी, छोमरोङ र ठूलाखर्कस्थित चेक पोस्टमा भित्रने र बाहिरिने पर्यटकको तथ्यांक र अभिलेख राख्ने गरिएको कार्यालयका पर्यटन सहायक नन्दलाल पाण्डेले बताए। ‘२०१९ को जनवरीदेखि डिसेम्बरसम्म चारवटा नाकामध्य सबैभन्दा बढी वीरेठाटीबाट ५९ हजार ६ सय ५ जना भित्रिएका छन्’, उनले भने, ‘शिखको चेकपोस्ट सेप्टेम्बरदेखि घारखोलामा सारिएको छ। ठूलाखर्कमा भदौदेखि नयाँ चेकपोस्ट राखिएको छ।’ स्वदेशी पर्यटकको भने तथ्यांक राख्ने गरिएको छैन। गत वर्ष घान्द्रुक अन्तर्गतका चेक पोस्टबाट बाहिरिने पर्यटकको संख्या ८५ हजार ३ सय ५ जना छ। घारखोला चेकपोस्टबाट भित्रनेभन्दा बाहिरिने पर्यटक धेरै छन्।
दुई महिनामा एक हजार ७ सय ८ जना पर्यटक भित्रिदा चार हजार २ सय बाहिरिएका छन्। छोमरोङ चेकपोस्टबाट एबीसी आधार शिविर जाने पर्यटक संख्या ३३ हजार ४८ र बाहिरिने २ हजार १ सय २२ जना छ।
छोम्रोङ हुँदै सन २०१८ मा ३३ हजार ६ सय ७९ र २०१७ मा ३१ हजार ६ सय ८९ जना पर्यटकहरु छोम्रोङ हुँदै एबीसी पदयात्रामा गएका थिए। एबीसी क्याम्प जाने पर्यटकलाई लक्षित गरेर २०१६ मा छोमरोङमा चेकपोस्ट राखिएको थियो।
सबै चेक पोस्टबाट भित्रने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा कम छ। मुख्य नाका वीरेठाटी हुँदै २०१८ मा ६५ हजार ७६, २०१७ मा ६३ हजार ५३७, २०१६ मा ४७ हजार २ सय ७४, २ हजार १५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक भित्रिएका थिए।
२०१९ मा नेपालमा आउने पर्यटक कम भएकाले त्यसको असर घान्द्रुक घोडेपानी रुटमा देखिएको एक्याप घान्द्रुकका प्रमुख संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलले बताए। २०२० को नेपाल भ्रमण वर्षका कारण पर्यटक बढ्ने उनले विश्वास गरे। घान्द्रुक इलाका अन्तरगत म्याग्दीको घोडेपानी, पुनहिल, खोप्रा, बयली, कास्कीको घान्द्रुक, लान्द्रुक, एबीसी क्याम्प, घम्पुसलगायत पर्यटकीय क्षेत्र समेटिएको छ। यी सबै क्षेत्रको भ्रमण गर्न १४ दिन लाग्छ। कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीलाई समेटेको एक्याप अन्तर्गत घान्द्रुक–घोडेपानी मुख्य गन्तव्य मानिन्छ।
सडक विस्तारसँगै पुराना पदमार्ग मासिएको र नया गन्तव्यको विकास हुन नसकेकाले पर्यटक घटेको पथप्रर्दशक रामजी भण्डारीले बताए। संख्याभन्दा पनि खर्च गर्न र धेरै समय बिताउने क्षमता भएका पर्यटकलाई आकर्षित गर्नुपर्ने घोडेपानीका होटल व्यवसायी भीम गर्बुजा बताउँछन्।
मगर, गुरुङ बस्ती, उनीहरूको कला, संस्कृति, जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो। घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा आउने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !