गाउँपालिकाले फिर्ता पठायो प्रशासकीय अधिकृत
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारका प्रतिनिधिको भूमिकामा हुन्छन्। मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा हाजिर हुनका लागि शुक्रबार मौवाफाटस्थित कार्यालयमा पुगेका थिए।
‘अध्यक्षले मन्त्रालयको हस्तक्षेप र असहयोग भयो भन्दै हाजिर हुन दिनुभएन’, उनले भने ‘पालिकामा हाजिर हुन नपाएपछि आइतबार मन्त्रालयमा आएर लिखित रूपमा जानकारी गराएको छु।’ गत कात्तिकमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सरुवा भएर रघुगंगामा आएका दीपक रेग्मीलाई मन्त्रालय र मन्त्रालयका शर्मालाई रघुगंगामा सरुवा गरिएको थियो।
राजनीतिक पूर्वाग्रही तरिकाले गाउँपालिकालाई असफल बनाउन प्रशासकीय अधिकृत फेरेर हैरान बनाएको र दुःख दिएपछि हाजिर हुन नदिइ फिर्ता पठाएको अध्यक्ष भवबहादुर भण्डारीले बताए। ‘तीन/तीन महिनामा प्रशासकीय अधिकृत सरुवा गरेपछि कसरी काम गर्ने? ,’ उनले प्रश्न गरे ‘आउने जाने गरिरहने कर्मचारीभन्दा कार्यालयकै सिनियर अधिकृतलाई कार्यपालिकाको निर्णयबाट प्रशासकीय अधिकृतको जिम्मेवारी दिने सोचेर फिर्ता पठाएको हो।’
रेग्मी अघिका प्रशासकीय अधिकृत रमेश थापाको आठ महिनामा बागलुङको बरेङ गाउँपालिकामा सरुवा भएको थियो। त्यसअघिका नारायण चापागाईंलाई पनि दश महिनामा र राजु नेपाल छ महिनामा सरुवा भएका थिए। दरबन्दी अनुसारका कर्मचारीको अभाव भएका बेला छिटो छिटो सरुवा हुने समस्याले स्थानीय तहको बजेट तथा योजना कार्यान्वयनमा असर परेको छ।
‘पत्र आएको पन्ध्र दिनमा हाजिर हुन्छन्, फेरी डेढ महिनामै सरुवा हुन्छन्’, अध्यक्ष भण्डारीले भने ‘कर्मचारीलाई अस्थिर बनाएर गाउँपालिकालाई असफल बनाउने खेल भएकोमा दुखित छु।’ रघुगंगा गाउँपालिकामा नयाँ आर्थिक वर्ष सुरु भएयताको छ महिनाको अवधिमा तीन जना प्रशासकीय अधिकृत फेरिएका छन्। गाउँपालिकाले ल्याएका योजना कार्यान्वयनमा आउन सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस !