ओसाका बन्द गरेर नारिता

ओसाका बन्द गरेर नारिता

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको नारिता विमानस्थलमा उडान गर्ने गरी टिकेट बुकिङ खुला गरेको छ। निगमले गत भदौ १२ गतेदेखि गर्दै आएको ओसाका उडान बन्द गरेर नारिता जाने निर्णय गरेको हो। ओसाका उडान औसतमा ५० प्रतिशत अकुपेन्सी (भराइदर) रहेको भए पनि यो गन्तव्यमा अहिलेसम्म घाटामा चलिरहेको छ। ६ महिनासम्म सञ्चालन गर्दा नाफामा लैजान नसक्ने भएपछि र जापानको राजधानी नजिकैको विमास्थलबाट बढी माग आएकाले ओसाका बन्द गरेर नारिता जाने निर्णय गर्नुपरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले अन्नपूर्णसँग भने।

निगमले गत भदौ १२ देखि सुरु गरेको ओसाका उडान आगामी फागुन १९ सम्म सुरु गर्दा जम्मा ६ महिना एक साता मात्रैको हुनेछ। निगमले हाल सञ्चालनमा रहेको ओसाका उडान घाटाकै कारण बन्द गरेर नाफा हुने अपेच्छासहित नारिता जाने विषयमा यसअघि नै निर्णय गरिसकेको जानकारी पनि चन्दले दिए।

नारितामा निगमले सातामा तीन वटा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको सोमबार बुधबार र शुक्रबार उडान गर्ने गरी तय भएको छ। निगमले सो गन्तव्यमा उडान गर्न टिकेटको बुकिङ खुला गरेको छ। काठमाडौंबाट नारिता सिधा उडान एकतर्फ ४० हजार र दुईतर्फी ८० हजार रुपैयाँ तय भएको निगमका सहप्रवक्ता सुलेख मि श्रले जानकारी दिए। यो गन्तव्यमा निगमले रातको एक बजे जाने भएको छ। करिब १५ घण्टाको नारिता उडान ओसाकाभन्दा आघा घण्टा मात्रै लामो हुने पनि उल्लेख छ।

निगमका अनुसार जापान सिभिल एभिएसन ब्युरो (जेक्याप)ले निगमलाई उडान अनुमति दिएको र टिकेट बुकिङ खुला गर्न अनुमति दिएकाले निगमले सोमबार मात्रै वेबसाइटमा जापानको नारिता उडान गर्ने जानकारी सार्वजनिक गरेको हो।

निगमले सुरु गरेको ओसाका उडानमा लाभ गर्न नसकेको र राजधानी केन्द्रित विमानस्थलमै काठमाडौंबाट सिधा उडान गर्नुपर्ने माग आएका कारण नारिता नै जाने निर्णय गर्नुपरेको जानकारी दिएको छ। नारिता विमानस्थल टोकियो सहरबाट ६० किलोमिटर दुरीमा छ।

निगमले १२ वर्षअघि नियमित उडान गरेको र त्यतिबेला राम्रै चलेको गन्तव्य भनेर अहिले पुनः सुरु गरेका ओसाका उडान भने घाटा लागेको र अहिलेको आवश्यकताको गन्तव्य नभएको निष्कर्ष पनि निकालेको छ। निगमले जहाजको संख्या थप गर्न नसकेका कारण १३ वर्ष नियमित गरेको ओसाका बन्द गरेको थियो।

निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म नियमित गरेको उक्त उडान वाइडबडी जहाज ल्याएपछि पुनः सातामा दुईवटै उडान गरिरहेको छ। त्यतिबेला निगमले बोइङ ७५७ नामक जहाजबाट चीनको सांघाई हुँदै ओसाकासम्म उडान गथ्र्यो।

निगमले हाल सातामा दुई वटा (मंगलबार र शनिबार) काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान गरिरहेको छ। निगमले पहिलोपटक लामो दुरीको उडान क्षमता भएको एयरबसको ए ३३०–२०० सिरिजको वाइडबडी जहाज भिœयाएपछि करिब एक वर्षको पहलमा जापान उडान सुरु गर्न सफल भएको हो।

यसअघि निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारले नारिता उडान सुरु गर्ने योजना बनाएका भए पनि मदन खरेल कार्यकारी अध्यक्ष भएपछि पुरानो व्यवस्थापकले गरेको निर्णयलाई उल्टाउने नयाँ गन्तव्यमा उडान योजना बनाए। निगमले तय भइसकेको नारिताको उडानलाई रद्द गरेर ओसाका सुरु गरेको थियो।

निगमको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त नारिता सुरु गर्नुस् भनेर निगमलाई निर्देशन दिएका थिए।

वाइडबडी जहाज भित्रिएपछि निगमले समयमा नै अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन मिलाउन नसक्दा र निगमले लिएको २४ अर्ब रुपैयाँको ऋण सावा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ। हरेक तीन महिनामा निगमले वाइडबडीको ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ भने न्यारोबडीका लागि ३३ करोड ९ लाख रुपैयाँ जहाज खरिदबापत लिएको ऋणको किस्ता तिर्नुपर्छ। निगमले यस्तो किस्ता एक वर्षदेखि बुझाउन सकेको छैन। निगम आर्थिक संकटमा पर्दै गएको र सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको भए पनि अहिलेसम्म पाएको छैन। यो विषयमा सरकार अझै सकारात्मक छैन। 

चैत २ गतेबाट ग्वान्जाओ जाने

वायुसेवा निगमको चीन उडान पनि आगामी चैत २ गतेबाट हुने भएको छ। चीन उडान साताको दुई वटा हुने र यो गन्तव्यमा भने न्यरोबडीबाटै उडान गर्ने निर्णय भएको प्रवक्ता चन्दको भनाइ छ। उनका अनुसार निगमले चीनमा हरेक साता मंगलबार र शनिबार उडान गर्ने गरी तालिका तय गरेको छ। यो गन्तव्यको पनि सोमबारबाटै टिकट बुकिङ खुला भएको निगमले जानकारी दिएको छ।

चीनबाट नेपालमा पाँच वटा वायुसेवाले नियमित उडान गर्ने भए पनि नेपालको राष्ट्रिय ध्वाजाहकले भने बल्ल सातामा दुई उडान गर्ने पाउने भएको छ। हाल नेपालबाट निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले चीनको बेइजिङमा सिधा उडान गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.