मेटिँदै खुलामञ्चको इतिहास

मेटिँदै खुलामञ्चको इतिहास

काठमाडौं : खुलामञ्च नै त्यो स्थान हो जहाँबाट गणतन्त्र नेपालका कैयौं प्रभावशाली नेता जन्मिए। भाषण सुन्न हुरुरु दौडने जनताको भीडले मञ्चको शोभा सधैं जीवन्त राख्यो। दरबारको हैकमलाई खुलामञ्चको बिगुलले सधैं जित्यो। हरेक राजनीतिक परिवर्तनको साक्षी खुलामञ्च बन्यो। तर आज त्यही खुलामञ्चको इतिहास मेट्ने प्रयास हुँदैछ।

खुलामञ्चबाटै उदाएका नेताहरु सिंहदरबारमा रम्दै छन्। स्थानीय निकायले व्यापारिक प्रयोजनका लागि खुलामञ्च भाडामा लगाएको छ। ठेकेदारले यो सार्वजनिक स्थललाई आफ्नै ढंगले प्रयोग गरेको छ। वर्षौंदेखि स्वछन्द विकोई कम्पनीले बसपार्कमा भ्युटावर बनाउन नसक्दा अस्थायी बसपार्क खुलामञ्चमै छ।

ठेकेदार मनोजकुमार भेटवालले पसल सञ्चालन र गाडी थन्क्याउनसमेत यो खुला स्थान प्रयोग गरेका छन्। वीर अस्पतालको नयाँ भवनको निर्माण सामाग्री, कामदारको टहरा, दरबार हाइस्कुलको कार्यालय खुलामञ्चमै यत्रतत्र छन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सहमतिमै वीर अस्पताल र दरबार हाइस्कुललाई खुलामञ्च प्रयोग गर्न दिएको बताए। उनी भन्छन्, ‘भवन निर्माणका लागि चाहिने सामान राख्न ठाउँ उपलब्ध गराइदिएका हौं। संरचना बनिसकेपछि खुलामञ्च खुल्ला हुन्छ।’ महानगरले खुलामञ्च प्रयोग गर्न मौखिक सहमति दिएको हो।

सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ वीर अस्पताल र दरबार हाइस्कुलको नाममा महानगरले खुलामञ्च ठेकेदारलाई सुम्पिएको आरोप लगाउँछन्। ‘सार्वजनिक स्थल खुलामञ्चलाई स्थानीय निकायदेखि ठेकेदारसम्मले दोहन गरिरहेछ,’ उनी भन्छन्, ‘जनतालाई सेवा दिनुपर्ने काठमाडौं महानगरपालिका आफैं व्यवसायकेन्द्रित भएको छ।’

पछिल्लो समय व्यापारिक पसलका टहरा, महानगरले नै तोकेको पार्किङ क्षेत्र खुलामञ्चको परिचय बनिसकेको छ। प्रवक्ता डंगोल खुलामञ्चमा पार्किङ गर्न कसैलाई अनुमति नदिएको बताउँछन्। माघ १ गतेदेखि वडा नम्बर २८ ले ऐतिहासिक खुलामञ्चमा पार्किङ निषेध गरेको घोषणा गर्‍यो र ब्यानरसमेत झुन्ड्यायो। त्यसको भोलिपल्टै महानगरले उक्त ब्यानर च्यातेर पार्किङ गर्न मौन सहमति दियो।

टहरा हटाउँदै वीर

वीर अस्पतालको नयाँ भवनमा कार्यरत कर्मचारी बस्ने टहरा खुलामञ्चबाट हटाइएको छ। ‘अकुपाई टुँडिखेल’का अभियन्तासँगको सहकार्यमा टहरा हटाइएको हो। अभियानबाट प्रभावित भएर सोमबारदेखि टहरा हटाउन सुरु गरेको प्रोजेक्ट म्यानेजर सञ्जीवकुमार झाले बताए। ‘खुलामञ्चमा ५० भन्दा बढी कर्मचारी र तिनका परिवार छन्,’ उनले भने, ‘खुलामञ्च खुल्ला राख्न कामदारलाई अन्तै बस्ने व्यवस्था गर्दै छौं।’ मंगलबारसम्म १० वटा टहरा हटाइएको र केही सातामा सबै हट्ने उनले जानकारी दिए। त्यहाँ राखिएको पार्किङलाई पनि हटाउने उनले जनाए।


सकसमा वीर

पुरानो वीर अस्पतालको भवनसँगै नयाँ भवन बन्दै छ। दुईतले ग्राउन्ड फ्लोरसमेत ९ तलाको उक्त अस्पताल अझै भव्य र सुविधासम्पन्न हुनेछ। यही अस्पतालको कौसीबाट हिमाल, पहाड हुँदै भासिएको काठमाडौं प्रष्ट देखिन्छ। त्यो भन्दा पनि प्रष्ट देखिन्छ सामुन्नेको खुलामञ्च र त्यसको सप्तरंगी मञ्च।

केही साताअघि अकुपाई टुँडिखेलका अभियन्ताहरूले बनाएको नेपालको झन्डा, मञ्चको भित्तामा पोतिएको घाँसे रङ र रंगीबिरंगी फूल खुलामञ्चमा अंकुराउँदै छन्। तर दृष्य फराकिलो बनाउँदै लग्दा खुलामञ्चमा मञ्चमात्र देखिन्छ। खुलास्थान कतै भेटिँदैन।

रत्नपार्कसँगै अस्थायी बसपार्क रहेको खुलामञ्चमा टहराको लस्कर छ। पार्किङ र बालुवाको थुप्रो त्यहीं छ। अस्पतालले ०७२ को भूकम्पमा टुँडिखेल र खुलामञ्चमा बिरामीको व्यवस्थापन गरेको थियो। आउँदा दिनमा त्यस्तै विपत्ति आए यी खुला स्थानलाई कसरी उपयोग गर्ने भन्दै अस्पतालले ‘डिजास्टर प्लान’ समेत बनाएको थियो।

गाडी, हर्नको आवाज र मानिसको कोलाहलबाट वीर यसै पनि पहिलेदेखि नै आतंकित छ। बिरामीलाई स्वस्थ, संक्रमणरहित र तनावमुक्त राख्न वीरले सधैं शान्त वातावरण रोज्दै आएको छ। तर योजना बनाएअनुसार कार्यान्वयन गर्न सकस छ। कामदार र गाडी पार्किङका लागि छुट्टै व्यवस्था गर्न नसक्दा खुलामञ्च ओगट्नु परेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्।

‘खुलामञ्च खुल्ला रहनुपर्ने हाम्रो पनि इच्छा हो,’ उनले भने, ‘अस्पताल वरपर खुल्लास्थान नहुँदा अस्पताललाई मर्का परेको छ।’ दैनिक करिब २२ सय बिरामी उपचारार्थ आउने यस अस्पतालले नयाँ भवन केही महिनामै बनाइसकेपछि खुलामञ्चलाई पूर्ववत् अवस्थामा ल्याउन चाहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.