वीरगन्जमा शनिबारबाट प्रदेशस्तरीय फुटबल
वीरगन्ज : वीरगन्जमा प्रदेश २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साको आयोजनामा शनिबारदेखि हुने प्रतियोगितामा आठै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिने छन्।
शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद शाहबुद्दीनले प्रदेशस्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। युवाहरुको शारिरीक, मानसिक, सामाजिक र बौद्धिक विकासको साथै खेलकुदको प्रवर्द्धनका लागि पनि प्रतियोगिताका आयोजना गर्न लागिएको अध्यक्ष शाहबुद्धिनले बताए।
वीरगन्जको आदर्शनगर रंगशालामा हुने प्रतियोगिता माघ २५ गतेसम्म चल्ने छ। प्रतियोगिताको उपाधि विजेता टिमलाई एक लाख ५१ हजार र उपविजेता टिमलाई ७५ हजार रुपैयाँ नगद पुरस्कारसहित कप र मेडल प्रदान गरिने फाउण्डेशनका सचिव सरोज चौरसियाले जानकारी दिए। त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याचको लागि पनि पुरस्कारको व्यवस्था रहेको चौरसियाले बताए।
प्रतियोगिताको समूह ‘क’मा पर्सा, बारा, धनुषा र सिराहा, समूह ‘ख’ मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी रहेका छन्। शनिबारको उद्घाटन खेल पर्सा जिल्ला फुटबल संघ र धनुषा जिल्ला फुटबल संघबीच हुने आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !