अलबिदा कोबी

अलबिदा कोबी

पाँच पटक एनबीए च्याम्पियन बनेका कोबी बास्केटबलको इतिहासमै सबैभन्दा सफल खेलाडी मानिन्थे।


‘मनमा कुरा खेलाएर धेरै सोचेर नबस। जीवन एकदमै छोटो छ।’ यो भनाइ हो चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको। संयोग पनि कस्तो, कोबीको यो भनाइ उनकै जीवनसँग मेल खान पुग्यो। गत आइतबार अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय कोबीको निधन भयो।

आफूले भनेजस्तै उनले छोटो समयमै जीवन गुमाउन पुगे। उक्त दुर्घटनामा उनीसँगै १३ वर्षकी छोरी गियानाले पनि ज्यान गुमाउन पुगिन्। उनका चार छोरीमध्ये गियाना माइली छोरी हुन्। कोबीका अन्य तीन छोरीमा १७ वर्षीया नातालिया, सात वर्षीया क्याप्री र तीन वर्षीया बियङ्का छन्।

पछिल्लो समय उनी माइली छोरी गियानालाई बास्केटबलमै करिअर बनाउन लागिपरेका थिए। उनी छोरीको प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए। गियानालाई महिला बास्केटबलमा स्थापित गराउने अभियानमा कोबी निरन्तर लागिपरेका थिए। गत महिना छोरी गियानालाई बास्केटबल सिकाइरहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल पनि बनेको थियो। कोबी छोरी गियाना महिला बास्केटबलमा आफूजस्तै चर्चित होऊन् भन्ने चाहन्थे।

महान् खेलाडी

विश्वभर बास्केटबलका कुल पाँच महानतम् खेलाडीको नाम लिने हो भने कोबीको नाम अग्रपंक्तिमा आउँछ। बास्केटबल कोर्टमा सदैव कोबीकै चर्चा हुने गथ्र्याे। पाँच पटक एनबीए च्याम्पियन बनेका कोबी बास्केटबलको इतिहासमै सबैभन्दा सफल खेलाडी मानिन्छन्।

स्तब्ध प्रशंसक

कोबीको निधनलगत्तै विश्वभरका बास्केटबल प्रशंसकले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए। समाजिक सञ्जालको ट्रेन्डिङमा यो साता उनी मात्र रहेका छन्। यसले भन्न सकिन्छ, उनी कति लोकप्रिय खेलाडी थिए भनेर।

उनको निधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बाराक ओबामा, बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायत चर्चित राजनीतिज्ञले श्रद्धाञ्जलि व्यक्त गरेका थिए। हलिउडको प्रसिद्ध ग्रामी अवार्डकै दिन हेलिकप्टर दुर्घटनामा निधन भएका कोबीप्रति अवार्डका तर्फबाट पनि श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। त्यस अवसरमा विश्वप्रसिद्ध चलचित्र निर्देशकहरूले कोबीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

२० वर्षसम्म सक्रिय

कोबीले २० वर्ष सक्रिय खेलाडीका रूपमा कोर्टमा बिताए। उनले व्यावसायिक बास्केटबल सदैव लस एन्जल्स लेकर्सबाट खेले। कोबीले दुई दशकको खेल जीवनमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान बनाए। उनले आफ्नो क्लबलाई पाँच पटक एनबीए उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनी कयौं पटक एनबीएको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए।

कोबीले एनबीए लिगमा मात्र होइन, राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिएका छन्। एनबीए खेलाडी जो जोए ब्रायन्टका छोरा कोबीको जन्म २३ अगस्त १९७८ मा फिलाडेल्फियामा भएको थियो। कोबी २३ वर्षको उमेरमै महत्त्वपूर्ण तीनवटा उपाधि जित्ने पहिलो युवा खेलाडी बनेका थिए। कोबीको कप्तानीमा संयुक्त राज्य अमेरिकाको बास्केटबल टोलीले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। यी दुई ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाएपछि कोबी विश्वकै चर्चित बास्केटबल खेलाडी बन्न पुगेका थिए।

उनले २२ जनवरी २००६ मा टोरेन्टो रेप्टर्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शन अविस्मणीय बन्न पुगेको छ। उक्त खेलमा उनले व्यक्तिगत ८१ अंक जोडेका थिए। कोबीभन्दा अघि सन् १९६२ मा विल्ट चन्बरलेनले व्यक्तिगत १०० अंकको स्कोर गर्दै कीर्तिमान बनाएका थिए। त्यस्तै आफ्नो खेल जीवनको उत्तराद्र्ध अर्थात् सन् २०१६ मा ३७ वर्षको उमेरमा पनि कोबीले आफ्नो अन्तिम खेलमा ६० अंक जोडेका थिए।

‘बास्केटबल मेरो जीवन हो। जीवनको एउटा हिस्सा हो’, भनेर उनी सदैव भन्ने गर्थे। कोबीले सक्रिय खेल जीवनभर ३३ हजार ६ सय ४३ स्कोर गरेका छन्। उनी १८ पटक ‘एनबीए अल स्टार’ खेलाडी चुनिए।

सन् २०१६ मा सक्रिय खेलबाट सन्न्यास लिएपछि कोबीले बालबालिकाका लागि ‘डियर बास्केटबल’ नामक कवितासमेत लेखेका थिए। उनको यो कवितालाई आधार बनाएर लघुचलचित्र बनाइएको थियो। यसको स्क्रिप्टसमेत उनैले लेखेका थिए। गत वर्ष यो चलचित्रले सर्व श्रेष्ठ लघुचलचित्रको पुरस्कार जितेको थियो। यसले ओस्कार अवार्ड जितेको थियो।

बुवा पनि चर्चित खेलाडी

कोबी ब्रायन्टका बुवा पनि आफ्नो समयमा चर्चित खेलाडी थिए। उनको बुवाको नाम जोए ब्रायन्ट भए पनि उनी ‘जेली बिन’का नामले चर्चित थिए। बास्केटबलका कुशल खेलाडी जोएले एनबीएको आठौं संस्करणसम्म खेलेका थिए। उनले त्यसपछि युरोपका पनि थुप्रै लिग खेले। सक्रिय खेल जीवन टुंग्याएपछि उनी बास्केटबलकै प्रशिक्षणमा लागे। अमेरिकाकै चर्चित एनबीए टोलीको प्रशिक्षण सम्हालेका उनले इटाली, जापान र थाइल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षण पनि सम्हाले।

नाम : जापानको गाई

जोएले छोरा कोबीको नाम जापानको कोबे सहरका चर्चित गाईको नामबाट राखेका थिए। जुन नाम उनले त्यहाँको एक रेस्टुरेन्टको मेनुमा पहिलो पटक देखेका थिए। त्यही नाम उनले आफ्नो छोरालाई राखिदिएका थिए।

उनले छोराको नाम राख्दा कुनै दिन विश्वभर चर्चित हुन्छ भनेर कहिल्यै पनि सोचेका थिएनन्। उनी छोरालाई पनि आफूजस्तै बास्केटबल खेलाडी बनाउन चाहन्थे। तर, कोबीले बुवा जोएले सोचेभन्दा पनि निकै धेरै नाम कमाए। आफूलाई बास्केटबलको पर्यायका रूपमा संसाभर परिचित गराए।

यौन दुर्व्यवहार

विश्वका केही चर्चित केही खेलाडीजस्तै कोबी ब्रायन्टले पनि यौन दुर्व्यवहारको मुद्दा खेप्नु पर्‍यो। सन् २००३ मा एक १९ वर्षीया युवतीले कोबीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। होटल बसाइका क्रममा कोबीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप होटलकी युवतीले लगाएकी थिइन्। उनले कोठा सफाइका क्रममा कोबीले यौन दुराचार गरेको आरोप लगाएकी थिइन्।

तर, पछि ती युवतीले आफ्नो आरोप फिर्ता लिएकी थिइन्। यो आरोपपछि कोबीको विश्वव्यापी रूपमा आलोचना पनि भएको थियो। उनलाई लिएर संसारभर तरंग उत्पन्न भएपछि आफूले यौन दुव्र्यवहार नगरेको भन्दै उनले सबैसँग माफी मागेका थिए।

फरक पाटो

विद्यालयमा अध्ययनरत रहँदा कोबी एउटा र्‍यापट ग्रुपको सदस्य पनि थिए। आफू बास्केटबलको महान् खेलाडी भए पनि उनी फुटबलको निकै ठूला प्रशंसक थिए। उनी फुटबललाई संसारकै सुन्दर खेल भन्ने गर्थे। त्यसैले पनि उनको निधनमा विश्वभरका चर्चित फुटबल खेलाडीले पनि समवेदना व्यक्त गरेका थिए। यसैगरी कोबीले निकलोडियनबाट प्रसारण हुने ‘अल द्याट’ नामक एउटा हांस्य शृंखलामा समेत काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.