विश्‍वभर स्वास्थ्य संकट घोषणा, चीनका नेपाली १० दिनदेखि कोठाभित्रै

विश्‍वभर स्वास्थ्य संकट घोषणा, चीनका नेपाली १० दिनदेखि कोठाभित्रै

काठमाडौं : चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो ।

डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन् । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ ।

‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ? ’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं । भाइरसले कताबाट छुने हो तनावमा छौं । नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ । किन्न जाने अवस्था छैन ।’

सँगै रहेका विदेशी विद्यार्थी धमाधम फर्किएपछि एक्लो महसुस गरिरहेको एक नेपालीले बताए । छिमेकी भारत, बंगलादेश, माल्दिभ्सले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । श्रीलंका र पाकिस्तानले पनि आफ्ना विद्यार्थीलाई छिट्टै लैजाँदै छन् ।

हुपे प्रान्तको श्रीयनमा एमडी अध्ययन गरिरहेका अमित शर्माले सरकारसँग जतिसक्दो छिटो स्वदेश लैजान आग्रह गरे । ‘दैनिक संक्रमण बढिरहेको छ । तर, हामी १० दिनदेखि बाहिर निस्केका छैनौं । आफैँ चिकित्सक भएकाले पनि सुरक्षित हुने तरिका बुझेका छौं’, उनले भने, ‘सरकारले अहिले नै लगेर केही दिन क्वारेन्टाइन अर्थात् छुट्टै शिविर÷अस्पतालमा राखेर निगरानी गरे हुन्छ ।’

उक्त सहरमा ३० नेपाली छन् । ‘नेपाली विद्यार्थीलाई भाइरस देखिएको थाहा भएको छैन’, उनले भने । उहानस्थित ह्वाङजुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा अध्ययनरत नेपालीले शारीरिक रूपमा सुरक्षित रहेको बताउँदै यही अवस्थामा घर फर्कन जोड दिएका छन् । विश्वविद्यालयको युरोलोजीमा पिएचडी गरिरहेका गौरव पोखरेलले भने, ‘अन्य मुलुकले आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगिसकेका छन् । तर हामी चीनमै सुरक्षित भनेर बस्नुपर्दा मानसिक रोग लाग्न त्रास बढेको छ ।’

सोही सहरको सेन्टर चाइना नर्मल युनिभर्सिटीमा पीएचडी गरिरहेकी प्रमिला देवकोटाले सरकारसँग सम्पर्कमा रहेर हारगुहार गरिरहँदा पनि फर्काउन चासो नदेखाएको गुनासो गरिन् । उनले भनिन्, ‘म श्रीमान् र बच्चासहित उहानमै छौं । यहाँको अवस्था भयावह छ । भाइरस लागेको रहेनछ धन्य छौं । तर कहिलेसम्म थुनिएर बस्ने ? ’

आफ्नो पैसा तिरेर नेपाल फर्कन चाहे पनि सरकारी प्रयासबिना नसकिने उनले बताइन् । उनले भनिन्, ‘हामी २० तारिखदेखि कोठाबाहिर निस्केका छैनौं । बच्चा घाममा राख्न पाएका छैनौं ।’ आफ्नो अनुरोध राजदूत लीलामणि पौड्याल र परराष्ट्रसचिव शंकरदास बैरागीले बेवास्ता गरेको उनको भनाइ छ । उनले भनिन्, ‘सरकारले सगरमाथा संवाद र भ्रमण गरेर कैयन् रकम खर्चिने अनि विश्वमा देखिने र सुनिने कूटनीति भन्ने, यहाँ आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि व्यवस्था गर्न नसक्ने ? हाम्रो कूटनीति कस्तो ? ’ प्रधानमन्त्री र दलका शीर्ष नेताले बेलैमा सोच्न आवश्यक रहेको उनले बताइन् ।

हुपेकै चिन्चो सिटीमा रहेका विद्यार्थी गुरुकुमार यादव घरबाहिर ननिस्किएको आठ दिन भएको छ । उनले भने, ‘भाइरसको संक्रमण देखियो कि भनेर आफंैलाई चिमोट्दै बस्दै छौं ।’ हपे प्रान्तमा दुई सय बढी नेपाली विद्यार्थी छन् । उहानमा एक सय जनामध्ये ४० जना छुट्टीमा छन् । चिन्चोमा पनि ५० देखि ५५ विद्यार्थी छन् ।

सरकार बल्ल परामर्शमा

चीनको उहान सहरबाट नेपाली विद्यार्थी फर्काउने विषयमा नेपाल सरकार बल्ल परामर्शमा जुटेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, चिकित्सक एवं विज्ञसँग छलफल थालेको हो ।

उहानमा रहेका नेपाली स्वदेश फर्किएपछि कोरोना भाइरस पोजेटिभ देखिए के गर्ने भन्ने पूर्वतयारी हुन सकेको छैन । उद्धार गरी फर्काएका नेपालीलाई करिब दुई साता निगरानीमा राख्नुपर्ने हुन्छ । मन्त्रालयका एक उच्च अधिकारी प्रश्न गर्छन्, ‘ उद्धार गरी ल्याएपछि एकान्तमा बस्न नमाने के गर्ने ? उनीहरूलाई कहाँ राख्ने ? संक्रमण भएको अवस्थामा चीनमै प्रभावकारी उपचार होला कि नेपालमा होला ? ’

उहानबाट अन्य मुलुकले उद्धार गरी लगेका विद्यार्थीमा पनि पोजेटिभ देखिएको छ । त्यसैले के गर्ने भन्ने निर्णय गर्न सरकार अन्योलमा परेको हो । नेपालमा चीनबाट फर्किएका एक व्यक्तिलाई मात्र पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

‘शंकास्पद व्यक्तिका रूपमा कसैलाई पनि आइसोलेसनमा राखिएको छैन । सूचना लुकाएको होइन । सूचना लुकाएर महामारी रोकिने पनि होइन’, डा. लालले भने । स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल संक्रमण भएको पुष्टि नभएको अवस्थामा तत्कालै उद्धार गरी ल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संक्रमण नहुँदै ल्याउनु उपयुक्त हुन्छ । रुघाखोकीलगायतका अन्य लक्षण नलाग्दै उद्धार गर्नु उपयुक्त हुन्छ । संक्रमण भइहाल्यो भने उद्धार गर्दा झन् खतरा हुन्छ ।’

उद्धारको तयारीमा छौं : परराष्ट्र

चिनियाँ राजदूत होउ यान्छीले चीनमा भाइरसको महामारी रोक्न भइरहेको प्रयासबारे सरकारलाई औपचारिक जानकारी गराइएकी छन् । उनले स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयमा पुगेर त्यसबारे जानकारी दिएकी हुन् । परराष्ट्रसचिव शंकरदास बैरागीले भने, ‘हामी तत्काल नेपालीलाई उद्धार गर्ने चरणमा छौं । सबैसँग समन्वय गरेर त्यसमा अघि बढ्न लागेका छौं । पर्यटन र स्वास्थ्यले गर्ने कार्य र तयारीमा परराष्ट्रले कूटनीतिक पहल गर्ने हो ।’

उनले सबै स्थानमा रहेका नेपाली विद्यार्थीलाई कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको बताए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जोखिम रहेमा फर्काउने बताएका छन् भने परराष्ट्रमन्त्री ज्ञवालीले जुनसुकै बेला नेपालीलाई फर्काउन सकिने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.