महोत्तरी सेमिफाइनलमा
वीरगन्ज : महोत्तरीको टोली वीरगन्जमा जारी प्रदेश नम्बर २ स्तरीय ‘प्रथम गिरिजाप्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ।
वीरगन्जको आदर्शनगर रंगशालामा आइतबार भएको खेलमा रौतहटलाई टाइबे्रकरमा २-१ गोलले पराजित गर्दै महोत्तरीले अन्तिम चारको यात्रा तय गरेको हो। निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि हारजितको निर्णय टाइबे्रकरमा गएको थियो।
टाइबे्रकरमा महोत्तरीका लागि कृष्णबहादुर राना र लाले श्रेष्ठले गोल गरे भने सनम आले र सन्तोष राईको प्रहार गोलमा परिणत हुन सकेन। सनमको प्रहार बाहिरिएको थियो भने सन्तोषको प्रहारलाई रौतहटका गोलरक्षक मनीष मगरले रोकेका थिए। टाइबे्रकरमा रौतहटका लागि रूपेश कुँवरले मात्र गोल गर्न सके। बाँकी चार जनाको प्रहार भने गोलमा परिणत हुन सकेन।
महोत्तरीले अब फाइनल प्रवेशका लागि सोमबार हुने सर्लाही र सप्तरीबीचको विजेतासँग माघ २२ गते प्रतिस्पर्धा गर्नेछ। यसअघि शनिबार भएको उद्घाटन खेलमा पर्सालाई हराउँदै धनुषाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर २ का आठवटै जिल्लाका जिल्ला फुटबल संघका टोलीले भाग लिएका छन्।
प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख ५१ हजार र उपविजेता टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने जानकारी आयोजक जीपी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद साबुद्दिनले दिए।
प्रतिक्रिया दिनुहोस !