प्रसूति भवन अलपत्र
![प्रसूति भवन अलपत्र](https://annapurnapost.prixacdn.net/media/albums/bashku-health-post_20200203045602_5AKwgKu84f.jpg)
जाजरकोट : जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माणको काम सात वर्षदेखि अलपत्र छ। भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम अलपत्र छोडेको हो। समयमै भवन नबन्दा गाउँमै सुरक्षित प्रसूति सेवा दिन नसकिएको स्वास्थ्य चौकीले जनाएको छ।
सुरक्षित प्रसूति सेवाको अभावमा यहाँका गर्भवतीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ। निर्माण कामप्रति सरकारी उदासिनताका कारण प्रसूति भवन समयमै निर्माण नभएको स्थानीयको गुनासो छ। काम नगर्ने निर्माण कम्पनी र निर्माण व्यवसायीलाई गृह मन्त्रालय तथा स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन।
‘नत निर्माणको काम अघि बढेको छ, न निर्माण व्यवसायीलाई कारबाही नै भएको छ,’ स्थानीय राजबहादुर शाहीले भने, ‘एउटा व्यक्तिले काम नगर्दा सवै नागरिकले दुःख पाइरहेका छौं। कामचोर ठेकेदारलाई सरकारले किन कारबाही गर्न सक्दैन ? ’
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०६९/०७० मा ठेक्का गरी भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दिएको थियो। २०६९ बैशाख ७ मा सम्झौता भइ २०७० कात्तिक ६ गते सक्ने सम्झौता भएको थियो। सम्झौता अवधि सकिएकै करिब ६ वर्ष पुगिसक्यो। भवन निर्माणले भने पूर्णता पाउन सकेको छैन। एक करोड ५० लाख लागतको उक्त भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो।
निर्माणको जिम्मा लिएका ठेकेदार बीचमै काम छाडेर फरार भएपछि आधा बनेको भवनमा घाँस उम्रिसकेको छ। काम गराउने कार्यालयले पनि भवन अलपत्र पर्नुको कारण खोज्न सकेको छैन। स्थानीयले पटक–पटक काम अघि बढाउन दबाब दिए पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले ठेकेदारलाई काम गराउन सकेको छैन।
भवन अभावका कारण सुरक्षित प्रसूति सेवामा समस्या भएपछि मजकोटवासीले ठेकेदारलाई कारबाही गर्न माग गरेका छन्। स्थानीय प्रकाश शाहीकाअनुसार भवन निर्माणको काम १० प्रतिशत मात्रै भएको देखिन्छ। भवन डिभिजन कार्यालय सुर्खेतले व्यवसायीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)