टेनिसमा सोफियाको उदय

टेनिसमा सोफियाको उदय

अमेरिकी स्टार सेरेना विलियम्सको बढ्दो उमेर, मारिया सारापोभाको प्रतिबन्धपछिको डगमगाउँदो खेल र सिमोना हालेपको खराब फर्मले महिला टेनिसलाई केही फिक्का बनाएको थियो।


टेनिस भन्नासाथ महिला खेलाडीको ग्ल्यामर र सुन्दरताको विषयले बढी महत्व पाउँछ। विश्व टेनिसलाई सदैव चर्चाको शिखरमा पुर्‍याउन केही सुन्दरी महिला खेलाडीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। उनीहरूले आफ्नो खेल कौशलका साथै सुन्दरताले टेनिसलाई रंगीन बनाउँदै आएका छन्। तर, पछिल्ला केही वर्षमा भने विश्व टेनिस केही फिक्का देखिएको थियो।

अमेरिकी स्टार सेरेना विलियम्सको बढ्दो उमेर, मारिया सारापोभाको प्रतिबन्धपछिको डगमगाउँदो खेल र सिमोना हालेपको खराब फर्मले महिला टेनिसलाई केही फिक्का बनाएको थियो। संसारकै ‘ग्ल्यामरस’ खेलका रूपमा हेरिने महिला टेनिस ओझेलमा पर्न थालेपछि खेलकुद पण्डितहरू पनि निराश बन्न पुगेका थिए।

विश्वास गुमाएकी बुकार्ड

अझ सन् २०१४ मा क्यानडाकी २० वर्षीया युजुनी बुकार्डले जुन अन्दाज र ग्ल्यामरसका साथ विश्व टेनिसमा पदार्पण गरेकी थिइन्, त्यसले विश्व खेलकुद जगत्लाई धेरै समय तताउने विश्वास गरिएको थियो। तर, धेरैको विश्वास र भरोसामा उनी उत्रन सकिनन् र उनको ग्ल्यामरस छवि पनि लामो समयसम्म टिक्न सकेन। सन् २०१४ मा विम्बल्डन टेनिसको फाइनलमा स्थान बनाउनुबाहेक उनको ग्ल्यामरस छवि र प्रदर्शनले उल्लेख्य रफ्तार हासिल गर्न सकेन। एक्कासि चर्चामा आएकी उनी विस्तारै हराउँदै गइन् र अहिले सामाजिक सञ्जालमा मात्र सीमित भएकी छन्। ‘ग्ल्यामर गर्ल’ अन्ना कोर्निकोभाको उत्तराधिकारीका रूपमा धेरैले बुकार्डलाई हेरे पनि उनले लामो दौड दौडन सकिनन्।

ओसाका र अजरेन्काको भरथेग

विश्व टेनिसमा एकपछि अर्को निराशा र फिक्कापनलाई धेरथोर ग्ल्यामरस बनाएका थिए— जापानकी नाओमी ओसाका, अमेरिकाकी स्टेफन्स सोलान, बेलारुसकी भिक्टोरियो अजरेन्का, चेक रिपब्लिककी पेन्ट्रा क्वितोभा र जर्मनीकी एन्जेलिक कर्बरले। यी खेलाडीले आफ्नै बलबुतामा फिक्का देखिएको महिला टेनिसलाई चम्काउने प्रयास गरेका थिए। तर, यी सबै खेलाडीको प्रदर्शन एक रूपको हुन सकेन।

नाओमी ओसाका पूर्व विश्व नम्बर एक खेलाडी हुन्। उनले अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेकी थिइन्। विश्व टेनिसमा तहल्का मच्चाएकी ओसाकाले अस्ट्रेलियन ओपनको उपाधि पनि जितेपछि उनीबाट निकै आशा गरिएको थियो तर पछिल्लो वर्ष उनले प्रभावशाली प्रदर्शन गर्न सकेकी छैनन्। प्रशिक्षक सासा बाजिनबाट छुट्टिएलगत्तै ओसाका घाइते हुन पुगिन्। चोटकै कारण इटालियन ओपनमा सहभागी नभएकी ओसाकाले फ्रेन्च ओपन र विम्बल्डनमा नमीठो हार बेहोर्नु पर्‍यो।

ओसाका यस वर्षको अस्ट्रेलियन ओपनमा पनि तेस्रो चरणभन्दा अगाडि बढ्न सकिनन्। तेस्रो चरणमा उनी १७ वर्षीया अमेरिकी खेलाडी कोको गउफसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन्। उनले पहिलो ग्रान्डस्लाम जितेपछि सारा विश्वले आफूबाट धेरै आशा राखे पनि त्यो अनुरूपको प्रदर्शन गर्न नसकेको दु:खेसो गर्दै आएकी छन्।

बियान्का एन्ड्रेस्कुको चमक

भेट्रान स्टार सेरेना, ब्ल्याक ब्युटी ओसाका र एन्जेलिक कर्बरलाई पछि पार्दै गत वर्ष विश्व टेनिसमा उदाइन्, क्यानडाकी १९ वर्षीया बियान्का एन्ड्रेस्कु। अमेरिकी (यूएस ओपन) मार्फत उदाएकी उनको आकर्षक खेल र कामुक जीउडालले सारा विश्वलाई मात्र मन्त्रमुग्ध बनाएन, ‘सेरेना युग’लाई पनि नराम्रोसँग धक्का दियो। उनले आफ्नो सौन्दर्यले मात्र होइन, शानदार खेलबाट सबै प्रशंसकको मन जित्न सफल भइन्। एन्ड्रेस्कुले यूएस ओपनसहित इन्डियन वेल्स र रोजर्स कप आफ्नो बनाइन्। सन् १९६९ मा फाए अर्बानपछि अमेरिकी ओपन जित्ने पहिलो क्यानेडियन खेलाडी बनिन्। तर, यस वर्ष उनी घुँडामा चोट बोकेपछि उनले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन नखेल्ने निर्णय गरिन्।

एन्ड्रेस्कु कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने पहिलो क्यानेडियन खेलाडी पनि बनेकी छन्। उनी सन् २००६ पछि कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने पहिलो किशोर खेलाडी पनि हुन्। सन् २००६ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले यस्तो सफलता हात पारेकी थिइन्। यसैगरी उनी सन् २००४ पछि आफ्नो पहिलो सहभागितामै ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने पहिलो खेलाडी पनि बनेकी छन्। यसअघि सन् २००४ मा सारापोभाले आफ्नो पहिलो सहभागितामै विम्बल्डनको उपाधि जितेकी थिइन्। एन्ड्रेस्कुका पिता निकु र आमा मारिया रोमानियाका नागरिक हुन्। उनीहरू सन् १९९० मा क्यानडा बसाइँ सरेका थिए। एन्ड्रेस्कुले सात वर्षकै उमेरमा टेनिस खेल्न थालेकी हुन्। ११ वर्षको उमेरमा उनी क्यानडाको राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन्। सानैदेखि किम क्लाइचर्सको खेल नियाल्दै आएकी उनले उनीजस्तै खेलाडी बन्ने लक्ष्य लिएकी थिइन्। सन् २०१६ मा सिमोना हालेपको प्रेरणामा एन्ड्रेस्कुले व्यावसायिक टेनिस सुरु गरेकी हुन्।

सोफिया केनिनको उदय

अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको वर्षको पहिलो ग्रान्डस्लाम टेनिस सुरु हुनुभन्दा अगाडि सोफिया केनिनको चर्चा खासै थिएन। अस्ट्रेलियन ओपनको दाबेदारमा अन्य चर्चित खेलाडीसँगै अमेरिकाकै सेरेना र भेनस विलियम्स, स्लोइन स्टेफन्स्, कोको गउफलगायतको नाम चर्चामा थियो। तर सेफियाले पहिलो खेलदेखि नै सबैलाई आश्चर्यचकित बनाउँदै उपाधि यात्रा तय गरिन्।

सोफियाले चौथो चरणमा आफ्नै देशकी कोको गउफ, क्वार्टरफाइनलमा ट्युनिसियाकी ओन्स जाबुयुर, सेमिफाइनलमा अस्ट्रेलियाकी अस्लेह बार्टी र फाइनलमा स्पेनकी गार्बियन मुगुरुजलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितिन्।

विश्व वरीयतामा १४औं स्थानमा रहेकी केनिनले अस्ट्रेलियन ओपनको उपाधि जितेसँगै वरीयतामा पनि छलाङ मारिन्। अहिले उनी सातौं स्थानमा आइपुगेकी छन्। उनी सेरेना विलियम्सलाई पछि पार्दै अमेरिकी नम्बर एक खेलाडी पनि बन्न सफल भइन्। सोफिया अस्ट्रेलियन ओपनको उपाधि जित्ने समग्रमा १८औं खेलाडी हुन्।

आफ्नै बुवालाई मुख्य प्रशिक्षक बनाएकी केनिनको यो करिअरकै सबैभन्दा ठूलो उपलब्धि हो। २१ वर्षीया केनिन पछिल्ला १२ ग्रान्डस्लाममा पहिलो उपाधि जित्ने आठौं खेलाडी बनेकी छन्। उनी अस्ट्रेलियन ओपनको उपाधि जित्ने मारिया सारापोभापछि दोस्रो कम उमेरकी खेलाडी हुन्। सारापोभाले २० वर्षको उमेरमै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन्।

सोफिया सन् १९९८ मा रुसको मस्कोमा जन्मिएकी हुन्। उनी जन्मिएको केही समयपछि नै उनका परिवार मस्कोबाट अमेरिका बसाइँ सरेको थियो। सोफियाका बुवा एलेक्जेन्डर सन् १९८७ मा सोभियत युनियन छाडेर न्युयोर्कमा बसाइँ सरिसकेको थियो। तर, छोरी जन्मिने समयमा भने उनी मस्कोमै थिए। सोफियाकी आमा लिना मस्कोकै अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन्।

सोफियाले पाँच वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन्। उनलाई रिक म्याकीले १२ वर्षसम्म टेनिस सिकाए। सोफियाले सानै उमेरमा थुप्रै उपाधि जितिसकेकी थिइन्। उनले अमेरिकाको उमेर समूहबाट थुप्रै प्रतियोगिता खेलिन्। उनी लामो समयसम्म उमेर समूहमा अमेरिकाको शीर्ष खेलाडी बनिन्। १४ वर्षको उमेरमा केही व्यावसायिक प्रतियोगिता जितेपछि उनले अमेरिकी टोलीमा पनि स्थान बनाउन सफल भइन्। उनले पहिलो पटक वाइल्ड कार्डमार्फत यूएस ओपनमा प्रवेश पाएकी थिइन्। पहिलो खेलमै क्यारोलिना प्रिलिस्कोभासँग पराजय बेहोरेकी उनले त्यही हारबाट पाठ सिकिन् र आफूलाई अगाडि बढाइन्। सोफियाले ‘नहारीकन जितिँदैन’ भन्ने कुरालाई आत्मसात् गर्दै लगातार संघर्ष गरिरहिन्। त्यसकै प्रतिफल उनले यो वर्षको सुरुमै अस्ट्रेलियन ओपनको उपाधि जित्न सफल भइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.