बाजुराको हिमाली गाउँपालिकामा ‘इन्फ्लुन्जा ए भाइरस’
बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा फैलिएको रुघाखोकी ‘इन्फ्लुन्जा ए भाइरस’ रहेको पुष्टि भएको छ। चार जनाको ल्याब नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं पठाएको थियो। ल्याब नमुना परीक्षणबाट ‘इन्फ्लुन्जा ए भाइरस’ पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन्।
चार जनामध्ये दुई जनालाई ‘इन्फ्लुन्जा ए भाइरस’ देखा परेको र एक जनालाई इन्फ्लुन्जा बि भाइरस पुष्टि भएको पन्तले जानकारी दिएका छन्। एक जनाको भने पोजेटिभ देखाएको उनले बताए। प्रदेश सरकारले प्रभावित क्षेत्रमा ल्याब टेक्नीसियन पठाएपछि ल्याब नमुना परीक्षणका लागि काठमाडौ लगिएको थियो। यो भाइरसले बिरामीको मृत्यु नभएपनि महामारी भने लिन सक्ने पन्तले बताएका छन्। यो भाइरसले मानिसको शरिरमा एक्कासी आक्रमण गर्ने गरेको छ। यो भाइरसले सन् २००९ मा विश्वमै महामारीको रुप लागेको थियो। यो भाइरस मौसमी रुघाखोकीका रुपमा देखा पर्दै आएको छ।
हिमाली गाउँपालिकामा रुघाखोकी फैलिएको जानकारी आएपछि स्थानीय सरकार, प्रदेश सरकारबाट स्वास्थ्यकर्मीको टोली पठाएको थियो। स्वास्थ्यकर्मीको टोलीले बाजुराको उत्तरी क्षेत्रका चार स्थानीय तहमा एक हप्तामा १ हजार १ सय ७० जनाको उपचार गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए। अहिले पूर्ण रुपमा भाइरल रुघाखोकी नियन्त्रणमा आइसकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताएका छन्।
गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी, भाइरल ज्वरो इन्फ्लुन्जाले महामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँगाउँ पुगेर डाक्टर सहितको टिमले उपचार गरिहेको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राज भण्डारीले बताए।
'विगतमा पनि यो क्षेत्रमा मौसमी रुघाखोकी फैलिदै आएको थियो। कुन भाइरसबाट हो भन्ने थाहा हुदैन थियो, अब कुन भाइरस हो जानकारी भएको छ।' जिल्ला जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भने,' अब तयारी गर्न सहज भएको छ। अब प्रभावित क्षेत्रका टोल टोलमा गएर स्वास्थ्य सन्देश दिँदै उपचार गर्छौ। '
प्रतिक्रिया दिनुहोस !