सुशासन कायम गर्न सूचना प्रविधि प्रयोग गर्दै स्थानीय तह
अछाम : अछामका स्थानीय तहहरु सुशासन र पारदर्शिताका लागि सूचना प्रविधिको प्रयोग गर्न थालेका छन्। प्रविधि प्रयोगमार्फत पालिकाहरुले गरिरहेका गतिविधि, बजेट, कार्यक्रमहरु सार्वजनिक गर्ने गरेका छन्। देशकै पहिला सूचना प्रविधि केन्द्र स्थापना गर्ने स्थानीय तह बनेको साँफेबगर नगरपालिकाका जिल्लाका अन्य पालिका भन्दा निकै अगाडी रहेको छ। साँफेबगरले अहिले गुनासो व्यवस्थापन प्रणाली, मोवाइल एपहरु सञ्चालनमा ल्याएको छ।
नगरले बैद्यनाथ मन्दिरमा पारदर्शिताका लागि सिसि टिभि जडान गरेको सूचना प्रविधि अधिकृत कविता कुँवरले बताइन्। उनले भनिन् ‘हामीसँग डाटा पोर्टल छ। यसमा हामीले नगरको सम्पुर्ण बजेट, कार्यपालिकाका निर्णय, वडाका कति बजेट त्यो सबै हेर्न सकिन्छ। प्राविधिक शाखामा काम चुस्त दुरुस्तका लागी स्मार्ट रोड, ई बिल्डीगको प्रयोग गरिरहेका छौं।’ नगरपालिकाले १४ वटै वडाका इन्टरनेट जडानका लागि सम्भाव्यता अध्ययन गरिसकेको नगर प्रमुख कुलबहादुर कँुवरले बताए। नगरको वडा नम्बर ८ चण्डिकामा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गरिएको नगर प्रमुख कुँवरले बताए। उनले भने ‘स्मार्ट जनप्रतिनिधि, स्मार्ट कर्मचारी र स्मार्ट जनताको परिकल्पना गरेका छौं।’
बान्नीगढी जयगढ गाउँपालिकाले समेत सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ। गाउँपालिकाले नागरिकलाई दिनुपर्ने र नागरिकले पाउनुपर्ने सम्पुर्ण जानकारी डाटा पोर्टलमा राखिएको सूचना प्रविधि अधिकृत रिकुं कुमारले बताए। गाउँपालिकाको मुख्य बजार जयगढमा इन्टरनेट फ्रि क्षेत्र बनाइएको छ। गाउँपालिकाले गरेका कामहरु जनता माझ पुर्याउन प्रविधि मार्फत निकै सहज र नागरिकले सहजै जानकारी पाउन थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र खडकाले बताए। गाउँपालिकाका ८ वटा वडा, ५ स्वास्थ चौकी र ४ वटा माबीमा ईन्टरनेटको पहुच पुगेको छ। सूचना प्रविधि अधिकृत कुमारका अनुसार अहिले जनप्रतिनिधिहरु कम्प्युटर, वा ल्यापटमा टाइप गर्न, इमेल गर्न सक्ने भएका छन्। गाउँपालिकाको कार्यालय, विभिन्न विद्यालयमा र स्वास्थ्थ चौकी ई हाजिरी जडान गरिएको छ।
मेल्लेख गाउँपालिकाले सरकारी सवारी साधन दुरुपयोग हुन नदिनका लागी जिपिएस समेत तयार पारेको छ। यसले पालिकाको कुन गाडी कुन ठाउँमा प्रयोग भइरहेको भन्ने जानकारी पाउन सकिने सूचना प्रविधि अधिकृत चन्द्र प्रकाश साउदले बताए। उनले भने ‘गाउँपालिकाले दुई वटा बस किन्दै छ। सर्वसाधारणले समेत जिपिएस प्रयोग गरेर बस कहाँ पुग्यो? कति समयमा आफु भएको ठाउँमा पुग्छ भन्ने जानकारी पाउन सक्छन।
रामारोशन गाउँपालिमा ईन्टरनेटको पहुँच पुग्न सकेको छैन्। गाउँपालिकाले ईन्टरनेट नहुदा पनि प्रयोग गर्न सकिने विभिन्न १२ वटा मोवाइल एपहरु सञ्चालनमा ल्याएको छ। एपहरुको प्रयोगबारेमा नागरिकहलाई भेला गराएर जानकारी दिँदै आएको आईएमएस अपरेटर दलबहादुर साउँदले बताए। उनले भने ’इन्टरनेटको लागि पहल भइरहेको छ। तर नेट नहुँदा गाउँपालिका सूचनाहरु दिन अफलाइन एपहरु सचालनमा ल्याएका छौं।’
चौरपाटी गाउँपालिका, ढकारी गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले सूचना प्रविधिको प्रयोगमार्फत सुशासन र पादरर्शिताको लागि अभ्यास गरिरहेका छन्। कार्यपालिको बैठकका बिषयमा एसएमएसमार्फत सूचना पठाउने गरिएको छ। इन्टरनेटको राम्रो पहुँच नहुँदा र केहि जनप्रतिनिधिहरुले सूचना प्रविधिको बिषयमा नबुझ्दा काम गर्न समस्या हुने गरेको पञ्चदेवल बिनायकका सूचना प्रविधि अधिकृत ललित बुढाले बताए।
साँफेगर नगरपालिकाले आयोजना गरेको स्थानीय सरकारमा सूचना प्रविधिको सिकाई आदानप्रदान कार्यक्रममा विभिन्न पालिकाका सूचना प्रविधि अधिकृतहरुले पालिकाले सूचना नागरिकसम्म पुर्याउनका लागी प्रयोग गरिरहेको प्रविधिबारेमा जानकारी गराएका थिए। साथै सो गोष्ठीले साँफेबगर ७ बुँदे घोषणा-पत्र जारी छ। गोष्ठिले स्मार्ट जनता, स्माट कर्मचारी र स्मार्ट जनप्रतिनिधिको लागि सूचना र प्रविधिको प्रयोग गर्ने निचोड निकालेको छ। ७ बुँदे घोषणा-पत्रमा अछामका सबै स्थानीय तहलाई सुशासन र पारदर्शितामा जवाफदेहिताको लागि सूचना र प्रविधिको प्रयोग, सूचना र प्रविधिको प्रयोग सबै पालिकाले प्रयोग गर्ने घोषणा-पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !