तस्बिरमा प्रदेश १ को प्रजातन्त्र दिवस
विराटनगर : प्रदेश १ सरकारले ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा प्रभातफेरीको आयोजना गरेको छ । बुधबार बिहान ७ बजे रोडशेष चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी र्याली मूलसमारोहमा परिणत भएको थियो ।
मुलसमारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र बहाली गर्ने क्रममा हाँसिल गरिएका अभूतपूर्व उपलब्धीहरु संस्थागत हुँदै गइरहेको बताए । ‘विभिन्न कालखण्डमा भएका संघर्षहरुबाट मुलुकमा प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि धमाधम संस्थागत हुँदै गइरहेको छ,’ उनले भने, ‘जनताले राजनीतिक स्वतन्त्रता हाँसिल गरेको फागुन ७ लाई ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं ।’
आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिनका रुपमा सबैले सधैं सम्झनुपर्ने मुख्यमन्त्री राईको भनाई थियो।
दिवसका अवसरमा फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गरेका थिए । फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो ।
यस्तै धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति आज नै सम्मान र परिवारलाई राहत उपलब्ध गराउन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की धनकुटा गएका छन्।






प्रतिक्रिया दिनुहोस !