सामुदायिक स्कुलका कक्षा रित्तै
तानसेन : पाल्पाका अधिकांश सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा खाली हुँदै गएका छन्। विद्यार्थीको संख्या घट्दै गएपछि कतिपयमा एक÷दुई विद्यार्थीलाई पढाउनु परेको छ। आधारभूत तहसम्मका स्कुलमा शिक्षक र विद्यार्थीको संख्या बराबरीजस्तै भएको छ।
बाल कक्षादेखि कक्षा ७ सम्म विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ। शैक्षिक सत्रको सुरु महिनामा सरकारी स्कुलमा भर्नाका भएका अधिकांश विद्यार्थी कक्षामा उपस्थित हुँदैनन्। पाल्पाका १० वटै स्थानीय तहका ग्रामीण भेगका आधारभूत विद्यालयमा यस्तो समस्या छ। विद्यार्थी अत्यन्त न्यून भएपछि जिल्ला शिक्षा तथा समन्वय इकाइले प्राथमिक तहका ४ सय ४० शिक्षक दरबन्दी कटौती गरेको छ। आधारभूत तहसम्म सामुदायिकमा विद्यार्थी अत्यन्त न्यून भएकाले सरकारले प्राथमिक तहमा ४ सय ४० दरबन्दी कटौती गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी विष्णु बेल्वासेले बताए।
बगनासकाली गाउँपालिका–५ दर्लामडाँडास्थित सरस्वती आधारभूत स्कुलमा २० जना विद्यार्थी छन्। शिक्षकको दरबन्दी ७ जनाको छ। एक शिक्षकलाई सरदर ३ विद्यार्थी पर्छ। कक्षा ५ मा जम्मा एक जना विद्यार्थी छन्। ‘घरघर गएर विद्यार्थी खोजेका छौं तर गाउँमा विद्यार्थी नै छैनन्,’ प्रधानाध्यापक यज्ञमूर्ति गैरेले भने, ‘भएकालाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौं।’ सहरी क्षेत्रमा बसाइसराइ र रोजगारीले आभारभूत तहमा विद्यार्थी न्यून भएको उनले बताए।
भर्ना अभियानमा विद्यालयको इज्जत जोगाउन एउटै विद्यार्थीलाई २÷३ वटा विद्यालयमा भर्ना गरिएको छ। शिक्षक छन्, स्कुलका भौतिक संरचना राम्रा छन्, तर आधारभूत तहमा विद्यार्थी अत्यन्त थोरै छन्। सरकारले हिमाली क्षेत्रमा ३५ विद्यार्थी बराबर एक शिक्षक, पहाडी क्षेत्रमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराईमा ५५ विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरेको छ। पाल्पाका ग्रामीण क्षेत्रमा एक विद्यार्थी बराबर एक शिक्षकको अवस्था सिर्जना भएको छ। दर्लामडाँडा माविको आधारभूत तहमा पनि ५० भन्दा थोरै विद्यार्थी छन्। बालकक्षामा २ जना, कक्षा १ मा २ जना र कक्षा ३ मा ४ जना विद्यार्थी छन्।
‘सरकारी मापदण्डअनुसार आधारभूत तहमा विद्यार्थी छैनन्, बसाइसराइ र बोर्डिङको आकर्षणले सरकारी विद्यालयमा विद्यार्थी घटेका छन्,’ दर्लामडाँडा माविका प्रधानाध्यापक थमनसिंह थापाले भने। पाल्पाका सबै स्थानीय तहका ९० प्रतिशत सरकारी स्कुलका आधारभूत तहमा शिक्षक बराबर विद्यार्थीको संख्या छ। शिक्षकमा जिम्मेवारीबोध कमी र व्यवस्थापन कमजोर हुँदा सरकारी स्कुलको आकर्षण घटेको शैक्षिक तालिम तथा जनशक्ति केन्द्रका प्रमुख प्रशिक्षक गोपालप्रसाद बस्यालले बताए। अविभावकको समेत सामुदायिक स्कुललाई राम्रो बनाउनु पर्छ भन्ने चेतना र ज्ञानको कमीले यस्तो अवस्था आएको उनको भनाइ छ।
निजीमा विद्यार्थीको भीड छ। कक्षा ८ देखि निजीमा विद्यार्थी घट्ने र सामुदायिकमा अन्तरवार्ता नै लिएर भर्ना गर्नुपर्ने अवस्था छ। जिल्लामा नाम चलेका सामुदायिकमा समेत नर्सरीदेखि कक्षा ७ सम्म विद्यार्थीको संख्या न्यून छ। धनीमानी र सरकारी कर्मचारीले छात्रवृत्ति सुविधाका लागि भने नर्सरीदेखि कक्षा ७ सम्म निजीमा पढाए पनि कक्षा ८ देखि सामुदायिकमा भर्ना गराउने गरेका छन्। विद्यार्थी टिकाउनकै लागि लामो समयदेखि सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन थालिएको छ। सामुदायिकमा सरकारी नीति नियमविपरीत प्याब्सनको र सरकारी गरी दोहोरो पाठ्यक्रम पढाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !