व्यवसाय सिकाउँदै सिद्धबाबा

व्यवसाय सिकाउँदै सिद्धबाबा

गुल्मी : बुधबार विद्यालयको ३८औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम आयोजना गरियो। विद्यालयको गेटमा उभिएका दुई जना छात्रा अतिथिको स्वागतमा व्यस्त थिए। गेटभित्र छिरेपछि बायाँतर्फ उपस्थित अतिथिलाई हस्ताक्षर गराई कार्यक्रमस्थल तिर पठाउन दुई जना शिक्षक व्यस्त थिए।

मञ्चमा अगाडि पुरस्कार र सम्मानपत्रबाहेक कोही थिएन। सबै अतिथि, अभिभावक र सहभागी विद्यालयको प्रांगणमा मञ्चतर्फ फर्केर बसेका थिए। कक्षा १२ मा अध्यनरत दुई जना छात्रा र छात्रले वार्षिक उत्सव कार्यक्रम उद्घोषण गरिरहेका देखिन्थे। कार्यक्रममा सहभागी भएर फर्केका सबैको हातमा हरियो साग र केराउको मुठो देखिन्थ्यो।

विद्यालयको गेटबाट निस्कँदा बायाँतर्फ तीन जना छात्र उभिरहेका थिए। टेबुलमा हरियो साग  थियो। बाहिर निस्कँदै गरेकी महिलालाई एक जना छात्रले बोलाए। ‘आन्टी–आन्टी एक मुठा साग लगिदिनुस् न’, महिलाले फर्केर हेरिन्। फेरि छात्रले भने, ‘एक मुठो सागको १५ रुपैयाँ हो। लैजानुस्।’ यी थिए रेसुंगा नगरपालिका–८ खानीगाउँमा रहेको सिद्धबाबा माविको वार्षिक उत्सवमा देखिएका दृश्य।

विद्यालयको वार्षिक उत्सवमा कक्षा ६ का ७ जना विद्यार्थीले एक सयका दरले नगद जम्मा गरेर सात सय रुपैयाँको साग किनेको कक्षा ६ मा अध्यनरत ११ वर्षीय राजन थापाले बताए। उनले जम्मा गरेको रकमबाट हरियो साग र केराउको तरकारी किनेको उल्लेख गरे। व्यापार गर्न बोल्ने सीप र लाज भगाउनुपर्ने अनुभव राजनको छ। कक्षा ६कै विशाल भुजेलले विद्यालयको सीप घरमा गएर सघाउने बताए। घरको तरकारी बेच्न आमालाई सहयोग गर्ने उनले उल्लेख गरे। झट्ट हेर्दा विद्यार्थीलाई लगाएर तरकारी बेच्न राखिएको जस्तो लागे पनि यो कक्षा ६ का विद्यार्थीलाई पेसा व्यवसाय कसरी गर्ने भनेर सिकाइएको प्रयोगात्मक विधि भएको विद्यालयले जनाएको छ। विद्यार्थीबाट तरकारी किनेर फर्किएकी शोभा थापाले विद्यालयबाटै व्यापारको सीप सिकेपछि अभिभावकलाई सहज हुने बताइन्। ‘स्कुलबाटै व्यापार गर्न सिकाएको देख्दा खुसी लाग्यो, ‘उनले भनिन्, ‘अन्य स्कुलले पनि यस्तै सिकाउनु पर्छ।’ थापाले पढेर सकेपछि छोराछोरी अलमल पर्नुभन्दा व्यावसायमा लाग्न सके भने अभिभावकको चाहना पूरा हुने उल्लेख गरिन्।

सिद्धबाबा विद्यालयले विद्यार्थीलाई पढाईसँगै देैनिक जीवनका व्यावहारिक सीप र तरिका सिकाउँदै आएको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए। ‘विद्यालय अक्षर सिक्ने पाठशाला मात्रै होइन’, उनले भने, ‘सबै खाले सीप र तरिका विद्यार्थीलाई सिकाउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.