अन्तरिक्ष यात्रीको खोजीमा नासा
नासाले नयाँ ‘स्पेस मिसन’ का लागि वैज्ञानिकहरूको लागि आवेदन खुल्ला गरेको छ। चन्द्रमा र मंगल ग्रहका लािग नासाले अन्तरिक्ष यात्रीहरूलाई भर्ना गर्ने भएको छ। नासाले आफ्नो यस मिसनको नाम ‘आर्टेमिस मिसन’ राखेको छ। नासामा हाल ४० जना अन्तरिक्ष यात्री रहेका छन्। नासाले जनाएअनुसार यही मार्च २ देखि ३१ सम्मका लागि आवेदन प्रक्रिया खुला गरेको छ।
नासाले उक्त आवेदन आफ्नो ट्विटरबाट खुला गरेको हो। नासाका प्रशासक जिम ब्रिडेंस्टिनले ट्विट गर्दै उक्त आवेदन राखेका छन्।
कसले दिन पाउँछ आवेदन ?
नासाको नयाँ मिसनका लागि विज्ञान, प्रविधि, इन्जिनियर र गणितमा स्नातकोत्तर गरेको अमेरिकी नागरिकले मात्र आवेदन दिन पाउनेछन्। यी सबै योग्यता वा डिग्री नभएकाले कम्तीमा दुई वर्ष व्यावसायिक अनुभव वा कम्तीमा एक हजार घण्टा काम गरेको हुनुपर्ने बताइएको छ।
छानिएका वैज्ञानिकले लामो समय ‘स्पेसफ्लाइट’ शारीरिक परीक्षामा पनि पास गर्नु पर्नेछ। एकपटक छनोटमा परिसकेपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा काम गर्ने र बस्ने मौका पाउनेछन्। त्यहाँ काम पाउने अन्तरिक्ष यात्रीले ५५ हजार डलर तलब पाउने नासाले जनाएको छ।