हाइड्रो भिलेज–सेर्वा दिनामिक सम्झौता
काठमाडौं : नेपालको हाइड्रो भिलेज प्रालिले मलेसियास्थित सेर्वा दिनामिक इन्टरनेसनल लिमिटेडसँग सम्झौता गरेको छ। शुक्रबार सम्पन्न सम्झौताअनुसार सेर्वा दिनामिकले हाइड्रो भिलेजको सेयर खरिद गर्नुका साथै इन्जिनियरिङ, खरिद, निर्माण र उत्पादन (ईपीसीसी) मा सहभागी हुनेछ। सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्नेछ।
सेर्वा दिनामिक मलेसियाका सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी हो। नेपालको हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा सेर्वा दिनामिक इन्टरनेसनल लिमिटेडले सहयोग र सहकार्य गर्नेछ।
सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा. इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रो भिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन्।
सेर्वा दिनामिक अन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ। जसले विश्वका विभिन्न ५ क्षेत्रमा इन्जिनियरिङ सेवादेखि सञ्चालन तथा मर्मत, इन्जिनियरिङ, खरिद, निर्माण र उत्पादन गर्दै आएका छन्। हाइड्रो भिलेजले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री गर्ने सम्झौता गरिसकेको छ भने अन्य सबै निकायबाट कानुनी तथा प्रक्रियागत आवश्यकता पूरा गरिसकेको छ। परियोजनाको लागत १० करोड अमेरिकी डलर रहने अनुमान गरिएको छ।
‘यो दक्षिण एसियामा ऊर्जा व्यवसायमा हाम्रो पहिलो फुटप्रिन्ट हो,’ सम्झौतापछि अब्दुल्लाहले भने, ‘यो परियोजनामा लगानी गर्न पाउँदा हामी खुसी छौं।’
त्यस्तै, हाइड्रो भिलेजका प्रबन्ध निर्देशक पोखरलले सम्भावित सहयात्रीको रूपमा सेर्वा दिनामिक ग्रुपजस्तो प्रतिष्ठित समूहको साथ प्राप्त गर्नु नेपालमा प्राविधिक ज्ञान, विदेशी लगानीका दृष्टिले समेत महŒवपूर्ण भएको भन्दै सेर्वा दिनामिकको उचो प्रतिष्ठाबाट नेपालको ऊर्जा क्षेत्र लाभान्वित हुने बताए।
प्रतिक्रिया दिनुहोस !