कर्नाली ‘कचकच’ गर्दो छ !
कर्नालीबारे आजसम्म के-कति छलफल भए होलान् ? त्यसको कुनै लेखाजोखा छैन, जसरी कर्नाली नदीमा बगेको पानीको नापतौल भेटिँदैन। सुसाउँदै बग्ने कर्नाली नदीकै छेउछाउका चिया-चौतारादेखि सिंहदरबारको सहर काठमाडौंका थुप्रै तारे होटल र पार्टी प्यालेससम्म कर्नालीले चर्चा पाएको छ।
त्यसो त कर्नालीबारे कर्नालीमै कम, काठमाडौंमा बढी छलफल भए कि ! कुनै समय त्यतै बसेर बनाइन्थ्यो कर्नाली विकासका योजना। उतैबाट छानिन्थे आयोजना। कार्यान्वयन हुनु-नहुनु अलग कुरा !
‘केन्द्र’ बनेर शासन गर्दै आएको काठमाडौंको नजर नै मुलुककै मूलदृष्टि बन्दै आएको छ। काठमाडौंले जस्तो देख्छ र देखाउँछ त्यसबाहिरको चित्र त्यस्तै बन्छ, बनाइन्छ। काठमाडौंको आँखाले जस्तो देख्यो कर्नालीको विम्ब त्यस्तै बनाइयो। अभाव, गरिबी र पछौटेपन विशेषण बनेर परिचयमा जोडिए। सबैभन्दा विकट, कमजोर वा पछि परेको भूगोलको रूपमा जसरी कर्नालीलाई प्रस्तुत गर्ने गरिएको छ, यो काठमाडौंकै दृष्टि-देन हो।
रोग, भोक र शोक समाचार बनेर सञ्चारमाध्ययममा जसरी छाए त्यसरी नै गीत, कविता र कथाका किताबमा पनि दुःख र वेदना मात्रै आए। मूलधारका भनिने सञ्चारमाध्यमको पहिलो पृष्ठमा कर्नाली समेटिन झाडापखालाले यहाँका दर्जनौं नागरिकले ज्यान गुमाउनुपर्छ कि छाउगोठमा युवतीहरू बलात्कृत हुनुपर्छ। मान्छे बोकेको बस भीरबाट खस्नुपर्ने या त तुइनमा झुन्डिँदै गरेको दृश्य देखिनुपर्ने नियति बदलिएको छैन।
वास्तविक विरासत र वैभव केन्द्रको आँखामा परेन। कर्नाली स्वयंले आफूलाई उजागर गरेन। जति बोल्नुपथ्र्यो बोलेन। जति बोल्यो त्यो सुन्नुपर्नेले सुनेन। के अब पनि कर्नाली नबोली बस्ने ? आजका युवाहरूका मस्तिष्कमा उब्जिएको यही प्रश्नले जन्माएको हो, कर्नाली उत्सव, कुडा कर्नालीका।
आफ्ना कुरा आफैंले भन्ने, अरूलाई सुनाउने तथा कर्नाली चिन्ने र चिनाउने एक नयाँ अभियानको सुरुआत यहाँका युवाहरूले गरेका छन्। तीन दिनसम्म सुर्खेतको बुलबुले उद्यानमा सञ्चालित उत्सवका दौरान कर्नालीको छोपिएको सौन्दर्य उत्खननको प्रयास भयो। कर्नाली कोट्ट्याउने, नागरिकलाई जगाउने र आगामी बाटो पहिल्याउने कोसिस उत्सवले गरेको छ। वैभवशाली प्रदेशको पहिचानका साथसाथै आर्थिक, कला, साहित्य, भाषासहित यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक पक्ष र विकास बहसले कर्नालीलाई नयाँ डिस्कोर्सतर्फ डोर्याएको छ।
खस विरासत
नेपाली भाषाको उद्गमस्थल हो, कर्नाली। जुम्लाको सिँजा सभ्यता होस् या खस भाषा र इतिहास। यसको बेग्लै विरासत छ। तर नेपाली भाषाको मूल स्वरूप खस भाषा नै यतिबेला लोप हुने अवस्थामा पुगेको छ।
कर्नालीभित्र बोलीचालीमा प्रयोग हुने गरे पनि लेखनमा यसको प्रयोग विरलै हुन्छ। विद्यालयका पाठ्यक्रमदेखि सरकारी कामकाजमा समेत प्रयोग भइरहेको छैन। जब प्रयोगमै ह्रास आउँछ तब भाषा लोप हुन थाल्छ। यही अवस्थामा पुगेको खस भाषाको संरक्षणको बहस कर्नाली उत्सवले थालनी गरेको छ।
खस भाषाकै शब्दकोश ‘खसिया आखर’ लेखिरहेका जुम्लाका रमानन्द आचार्यदेखि प्राध्यापक रमेश ढुंगेल र यसलाई नजिकबाट अध्ययन गरिरहेका डा. बद्री चापागाईंलाई कर्नाली उत्सवको एउटै मञ्चमा राखेर माधव चौलागाईंले यसका विविध आयामबारे बहस गरे। भाषा संरक्षणको दायित्व उजागर गरे।
कर्नाली घुम्ने कुरा
कर्नाली बुझ्न यहाँको भूगोल घुम्नुपर्छ। मान्छेहरूसँग संवाद गर्नुपर्छ। घुम्ने उद्देश्यले आउनुस् तपाईं यसलाई महसुस गर्नुहुन्छ। जसरी महसुस गरिन् झापाकी अस्मिता थापाले। केही महिनाअघि एक्लै महिनादिन लामो कर्नाली यात्रा गरेकी उनले कर्नालीको सौन्दर्य आँखामा अटाएकी छिन्। उनलाई कर्नालीको प्राकृतिक सुन्दरताले मात्रै लोभ्याएन यहाँका मानिसहरूको सहयोगी भावनाले पनि आकर्षित गर्यो। र त कसैले सबैभन्दा मन पर्ने ठाउँ कुन हो भनी सोधे, उनी सीधा जवाफ दिन्छिन्, कर्नाली।
‘कर्नाली क्यानाम् घुमेर हेर्दा’ शीर्षकको छलफलमा वक्ताको रूपमा निम्त्याइएकी उनले भनिन्, ‘कर्नाली घुम्ने सँगसँगै महसुस गर्नुपर्ने ठाउँ हो। जसको म वर्णन गरेर सक्दिनँ।’ उनको यो बयान अरूका लागि कर्नाली घुम्न आउने आह्वान पनि थियो।
पत्रकार मोहन मैनालीले पनि अस्मिताले जस्तै कर्नालीलाई महसुस गरेका रहेछन्। सोही सेसनका वक्ता उनले यहाँका मान्छेहरूसँग कुरा गर्दा कविता सुनेझैं लाग्ने अनुभव सुनाए। कर्नालीलाई महसुस गर्न र कविताको लयमा यहाँका माण्ठहरूसँग बात मार्न तपाईंहरू पनि आउने पो हो कि ? प्रदेश सरकारले यस वर्ष नारा नै बनाएको छ ‘यसपालि घुमौं कर्नाली।’
रंगमञ्च मन्थन
कुनै समय नेपाली रंगमञ्चकै उर्वरभूमि मानिन्थ्यो कर्नाली। यहाँका कलाकारहरू नाटक लिएर देशदेशावर डुल्थे। काठमाडौंमा हुने नाट्य प्रतियोगिताहरूमा पटक-पटक प्रथम हुन्थे। तर पछिल्लो समय सुस्ताएको रंगमञ्चलाई ऊर्जा दिन रंगकर्मी तथा सञ्चारकर्मी प्रकाश लामिछानेले अग्रज रंगकर्मी गणेशभक्त गौतम, नाटक र चलचित्र निर्माण तथा निर्देशनमार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान बनाएका मीनबहादुर भामसहित पछिल्लो पुस्ताकी माया थापासँग रंगमञ्च मन्थन गरे।
वक्ताहरूले कर्नालीको रंगमञ्चको विगत, वर्तमान र भविष्यको लेखाजोखा गरे। चुनौतीहरू केलाए र सम्भावनाहरू देखाए। कर्नालीको कथाको स्वाद र मौलिकपन देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै मूल्यवान् भएको तर्क उनीहरूको थियो।
उत्सवमा सहभागी हुन मुगुबाट सुर्खेत झरेका युवा रंगकर्मी हीरा बिजुली नेपाली रंगमञ्चलाई छुट्टै छलफलको विषय बनाएकामा हर्षित थिए। यसले हीरा र उनीजस्तै रंगकर्ममा भविष्य खोजिरहेका युवाहरूलाई पक्कै प्रोत्साहित गरेको हुनुपर्छ।
साहित्यमा कर्नालीका कथा
सम्भवतः नेपाली साहित्यको त्यस्तो कुनै विधा छैन, जसमा कर्नालीका कथा नलेखिएको होस्। तर आजसम्म लेखिएका कथाले कर्नालीलाई न्याय गरे ? कि उही काठमाडौंको आँखाले बनाएको विम्बकै वरिपरि घुमे ? कस्ता कथा, पात्र, परिवेश र चरित्रले कर्नालीको प्रतिनिधित्व गरे वा कर्नालीले कस्ता लेखक जन्मायो, कस्ता कथा लेखिन बाँकी छन् र लेखिनुपर्छ लगायत यावत् सवालहरूसहित विमल आचार्यले श्यामल, उषा हमाल र इन्दिरा शाहसँग विमर्श गरे।
कवि-निबन्धकार श्यामलले कर्नालीबारे लेखिए पनि लेखिनुपर्ने जति नलेखिएको टिप्पणी गरे। साथै उनले कर्नालीका कुरा कर्नालीकै मान्छेले लेख्नुपर्नेमा समेत जोड दिए। ‘हामीले लेख्ने सिर्जनाको सम्बन्ध आफ्नो समाजसँग हुनुपर्छ। समाजसँग संवाद गरेर लेखिनुपर्छ। त्यसमा आफ्नै भाषाको सुगन्ध हुनुपर्छ, संस्कृतिको सुगन्ध हुनुपर्छ। त्यो हुन सकिरहेको छैन’ साथमा उनको गुनासो थियो, ‘हामीले आफ्नो समाजतिर फर्केर हेरेका छैनौं।’
भाषा आयोगकी सदस्यसमेत रहेकी लेखक उषा हमालले आफ्नो माटोको कथा आफैंले लेख्नुपर्ने बताइन्। बाहिरबाट आएर कसैले कर्नालीबारे लेख्दा त्यसमा यहाँको मौलिकपन नआउने भएकाले पनि कर्नालीका खास कथा कर्नालीकै लेखकहरूबाट लेखिनुपर्ने धारणा अर्की वक्ता इन्दिरा शाहको पनि रह्यो।
एघारौं जिल्ला !
राजनीतिक विभाजनका हिसाबले कर्नालीमा १० जिल्ला छन्। तर उत्सवको एउटा छलफलको शीर्षक थियो, कर्नालीको एघारौं जिल्ला ! कर्नालीमा एउटा त्यस्तो समुदाय छ, जसको निश्चित ठेगाना छैन। न देशको नागरिकता छ, न निश्चित बासस्थान। फिरन्ते जीवन बिताउने राउटे समुदायलाई एघारौं जिल्लाको विम्बका रूपमा छलफलको विषय बनाइएको थियो।
धेरैको ध्यान तानेको यो सेसनको अर्को रोचक दृश्य के थियो भने, राउटे महामुखिया मैनबहादुर शाही नै वक्ताका रूपमा सहभागी थिए। सम्भवतः यो नै पहिलो पटक हुनुपर्छ राउटे समुदायको कोही सार्वजनिक मञ्चमा अरूसँगै वक्ताको रूपमा बसेर विमर्श गरेको। जुन अवसर कर्नाली उत्सवले जुटाएको थियो।
पछिल्लो समय राउटेहरूको उत्थानका नाममा जबर्जस्ती उनीहरूको सामाजिक तथा सांस्कृतिक पक्षमा खलल पुर्याइँदै छ। राउटेहरूको जीवनशैली बदल्न थुप्रै रकम पनि खर्च भइरहेको छ। दैलेखको गुराँस गाउँपालिकाले स्थायी बसोबासका लागि भन्दै परिचयपत्र नै वितरण गर्यो। तर राउटेहरू भने आफ्नै परम्परागत जीवनशैलीमा रमाउन चाहिरहेका छन्। महामुखिया शाहीको भनाइ पनि यस्तै थियो। ‘यो सहरमा बस्न मन पर्दैन। सबैले त्यही भन्छन्, अब म महामुखियाले मात्रै भनेर पनि मान्दैनन्’ उनले आफ्ना जनताको मनको कुरा खोले।
‘अब कसैले घर बनाइदिने भयो भने त्यहाँ बस्नुहुन्छ कि हुन्न ? ’ भनी प्रस्तोता टीकाराम यात्रीले सोधेकोे प्रश्नमा शाहीले त्यस्तो सम्भावना नै नरहेको जनाउ दिए। उनले भने ‘घर बनाइदिए पनि एकै ठाउँमा बस्न सक्दैन। हामी सबैको वनमै बस्ने इच्छा लाग्छ भने यो घर बनाएर पनि के गर्ने ? ’
राउटेहरूको चाहना एकातिर र उनीहरूलाई नै लक्षित गरेर काम गरिरहेका सरकारी तथा गैरसकारी निकायको उद्देश्य अर्कोतिर भइरहेको बेला उनीहरूकै अगुवासँगको सार्वजनिक छलफल उत्तिकै सान्दर्भिक हुन पुग्यो। वक्ता र सहभागीहरूको प्रतिक्रियाले पनि यसै जनाउँथ्यो। मानवशास्त्री डम्बर चेमजोङले राउटेहरूको विशिष्ट खालको सामाजिक, भाषिक, सांस्कृतिक फरकपनलाई सम्पत्तिका रूपमा ग्रहण गरेर राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए। उनीहरूले कुन जीवनशैली रुचाउँछन्, कसरी बाँच्न चाहन्छन् त्यसैमा मद्दत गर्नुपर्ने उनको तर्क थियो।
दबाई र देउता, भोक र भकारी
विकटताभित्रको विराटता, अभावभित्रको सम्भावना र सम्पन्नताको खोजी नै उत्सवको मुख्य उद्देश्य थियो। यही उद्देश्य अनुरूप कर्नालीको स्वास्थ्य अवस्था, रोगबिराम हुँदा उपचारका लागि स्वास्थ्य संस्था जानुभन्दा देउताको शरणमा पुग्ने चेतना होस् या खाद्य अवस्था, कृषि उत्पादन, भोकमरी र त्यसले नागरिकको जीवनशैलीमा पारेको प्रभाव पनि उत्सवमा छलफलको विषय बन्यो।
डा. कृष्णप्रसाद पौडेलले कर्नालीले आफ्नो उत्पादन भुल्दै गएकोमा चिन्ता व्यक्त गरे। चिनो, कागुनो, कोदो, फापर र मार्सेको खेती छोडेर दाताले दिएका अन्नमा निर्भर हुन थालेको संकेत गर्दै डा. अरुणा उप्रेतीले आफ्नै ठाउँमा उत्पादन हुने भोजन हराउनु नै भोक र भोकमरीको मुख्य कारण भएको दलिल पेस गरिन्। कुनै समय खाद्यान्नमा आत्मनिर्भर कर्नाली अहिले मागेर खाने अवस्थामा पुगेको विडम्बना चिर्न बहसले बाटो देखाएको छ।
कालापहाडका तोडा
विमर्शका विषय भाषा, साहित्य, कला र घुमघामसँग सम्बन्धित मात्रै पनि थिएनन्। संघीयता कार्यान्वयनसँगै बनेको प्रदेशको अर्थतन्त्रको आधारका कुरा पनि भए। उद्यमशीलता र रोजगारीबारे चर्चा गरिए।
गरिबीले पिल्सिएको कर्नालीका नागरिक रोजगारीका लागि छिमेकी मुलुक भारत (कालापहाड) निर्भर हुनुपर्ने तितो यथार्थको समीक्षा गर्दै वक्ताहरूले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने क्षेत्रहरू औंल्याए।
विमर्शका थप विषय
सरिता तिवारी, हरि शर्मा, शिव गाउँले र दिलभूषण पाठकले प्रश्नको पेरिफेरीमा रहेर छलफल गरे। प्रश्नबिनाको समाज उन्नत हुन नसक्ने तर्कसहित प्रश्नसँग भाग्ने जवाफदेही पक्षको प्रवृत्तिबारे चर्चा गरिए।
संघीयता कार्यान्वयनसँगै बनेका तीन तहका सरकारबीचको अन्तरसम्बन्ध, कर्नालीप्रति संघीय सरकारको दृष्टि, प्रदेश तथा स्थानीय सरकार सञ्चालनका समस्या र नागरिकका अपेक्षालाई केन्द्रमा राखेर संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेत, प्रदेशमन्त्री दल रावल र कर्नालीको एक मात्र महिला नगरप्रमुख कान्तिका सेजुवालबीच पत्रकार सरोजराज अधिकारीले गरेको छलफलले संघीयता कार्यान्वयनका समस्या उजागर गर्यो।
सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने मीना रखाल, दुर्गा सोब र मोहम्मदी सिद्धिकीले चन्द्रकिशोरसँग आ-आफ्ना समुदायको विविध पक्षमाथि सवालजवाफ गरे। लेखक सञ्जीव उप्रेती, उषा तितिक्षू र अधिवक्ता गीता कोइरालासँग टीका विष्टले समाज, संस्कार र समानताका पाटा कोट्ट्याइन्।
धर्म रेग्मी, केवलप्रसाद भण्डारी, अर्जुनबहादुर अयडी र भोजराज पौडेलले कर्नालीको विकास बहस गर्दा विमला केसी, देवकुमारी सुवेदी र सञ्जीव बरालले कर्नालीको अर्थतन्त्रका प्रमुख तीन आधारका रूपमा हेरिएका कृषि, पर्यटन र जलस्रोतमा लगानी गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने सम्भावनाहरू उधिने। अस्गर अली, वीरेन्द्रकुमार यादव र डा. सुधांशु दाहालका बीच गणेश आचार्यले डिजिटल कर्नालीको अवधारणा र सम्भावनाको खोजी गरे।
साथमा पहिलो दिनको कर्नाली गजल महफिल र दोस्रो दिनको कविता साँझको साथमा कर्नालीकै देउडा, हुड्के, गर्रालगायतका नाचहरूको प्रस्तुतिले उत्सवमा थप रङ भरे। ऋति फाउन्डेसनले आयोजना गरेको कर्नाली उत्सव समग्रमा कला, संस्कृति र साहित्यका साथसाथ आर्थिक, सामाजिक, राजनीतिक र विकासका विविध पाटाबारे सार्वजनिक विमर्शको महोत्सव बन्यो।
पहिलो संस्करणको उत्सवमा देखिएको उत्साहपूर्ण सहभागिता र हरेक छलफलमा उठाइएका सवालहरूले कर्नाली अब जाग्दै छ भन्ने संकेत दिएको छ। समस्या नै समस्याले ग्रस्त कर्नालीको अहिलेको विम्ब विस्थापित भई सुन्दर, आत्मनिर्भर र समृद्ध कर्नालीको आधुनिक विम्बमार्फत भावी पुस्ताले कर्नालीलाई चिन्न पाउने अवस्थाको सिर्जनाका लागि कर्नाली उत्सवले पहिलो पटक कर्नालीमै नयाँ डिस्कोर्सको सुरुआत गराएको छ। लाग्छ, अब कर्नालीको चकचक बढ्नेछ, कर्नाली कचकच गर्नेछ। कचकच नै लोकतन्त्र र समृद्धिको सौन्दर्य हो। कचकचमै फुल्छन्, जवाफ र योजना। @Sabdakarmi
प्रतिक्रिया दिनुहोस !