किसानको साथी लोभीपापी गरुड
जाजरकोट : लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यसको वैज्ञानिक नाम सिकोनिया इपिसकोपस हो। यो चरा एसियाको रैथाने प्रजाति हो। लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ। यो प्रजाति प्रायः नौ सय १५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसे मैदानहरू हुन्।
विश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड पछिल्लो समय जाजरकोट, बाँके र सुर्खेतमा फेला परेका छन्। बाँकेको चिसापानी, जाजरकोटको बारेकोट र
सुर्खेतको कांक्रेविहार क्षेत्रको गोरे खागल भन्ने स्थानमा पाँच जोडी लोभीपापी गरुड भेटिएका हुन्। जैविक विविधता तथा विश्वमा दुर्लभ धेरै वन्यजन्तु पंक्षी भएको कर्णाली प्रदेशको राजधानी सुर्खेत र जाजरकोटमा केही दिन अघि मात्र लोभीपापी गरुड फेला पारेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहले बताए। हाल जाजरकोटको बारेकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानी क्षेत्रमा आफूले गुँडसहित लोभीपापी गरुड फेला परेको सिंहले बताए। ‘अहिलेसम्म पाँच जोडी लोभीपापी गरुड भेटाएँ’ उनले भने, ‘लोप हुने अवस्थामा पुगेको यो पंक्षी गुँडसहित फेला पर्नु खुसीको कुरा हो।’ यो अग्ला सिमल र सालको रूखमा बस्ने, गुँड लगाउने गर्दछ।
रुख फडानी गर्दा गिद्दलगायत यो पंक्षीलाई असर परेको छ। अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ। मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ। यसले बालीनालीमा हुने कीरा फट्यांग्रो भ्यागुतो सर्प मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ।
लोभीपापी गरुड ७५ देखि ९२ उचाइ भएको मध्यम आकारको गरुड हो। यसको गठिलो, प्रायः कालो शरीर, भुँवादार सेतो घाँटी, कालो शिर तथा तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ। यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छन्। बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाहरू साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ।