सुरक्षित राख्न ज्वरो मापन सुरु
काठमाडौं : विश्वभर फैलिइरहेको नोबल कोरोना भाइरसका कारण सरकारले कुनै पनि सभा सम्मेलन नगर्न आग्रह गरेको छ। शिक्षा मन्त्रालयले यही चैत्र ५ गतेभित्र विद्यालय तहमा कक्षा १ देखि ९ सम्म सबै परीक्षा सकेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ। सरकारी निर्देशनबमोजिम विद्यालयहरूले धमाधम परीक्षा सक्दैछन्।
विश्वभर फैलिइरहेको कोरोना भाइरसको कुनै एन्टिडोज बनेको छैन। तथापि विद्यालयहरूमा भाइरसजन्य प्रकोप फैलनबाट रोक्न रोकथामका विभिन्न उपाय अपनाउन सकिन्छ। यसैअन्तर्गत देशका केही विद्यालयहरूले रेजर थर्मोमिटरबाट जाँच गरी विद्यार्थीको ज्वरो मापनको काम थालेका छन्।
खासगरी संक्रमणका लक्षण देखिएमा आवश्यक सिफारिससहित अन्यत्र थप उपचारका लागि पठाउन सहज होस् भनेर कतिपय विद्यालयहरूले रेजर थर्मोमिटरमार्फत ज्वरो मापन गर्न थालेका हुन्।
पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेसनल एकेडेमीले पनि हरेक दिन रेजर थर्मोमिटरमार्फत विद्यार्थीको जाँच गर्ने गरेको एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारी दिए। उनी भन्छन्, ‘कोरोनाबारे अनावश्यक त्रास फैलाउनु, होहल्लाको पछि लाग्नुभन्दा जनचेतना फैलाउने, आवश्यक सावधानी अपनाउने र स्वास्थ्य परीक्षण गरी बालबालिकालाई निर्धक्क भएर आउने वातावरण बनाउन स्वास्थ्य परीक्षण थालेका हौं।’
यसअघि पनि नेक्सस्ले विभिन्न समस्याका बेला सहजीकरण गर्ने गरेकाले समाजमा कुनै प्रकोप फैलिएमा अनावश्यक रूपमा सन्त्रास फैलाउन लाग्ने भन्दा आफू सुरक्षित कसरी हुन सकिन्छ भन्नेबारे विद्यालयले जानकारी दिने गरेको कट्वालले बताए। ‘बालबालिकाको दोस्रो घर विद्यालय हो। बाबुआमामा स्वाभाविक रूपमा सन्त्रास रहन्छ। कामकाजी हुनाले नभ्याउने, आत्तिने हुन्छ बरु विद्यालयले नै स्वास्थ्यजाँचको प्रबन्ध गरेमा बाबुआमालाई ढुक्क हुन्छ। त्यसैले हामीले पटकपटक स्वास्थ्य जाँच गराउने गर्छौं। यो त्यसैको कडी हो’, उनले बताए।
विद्यालयले केही विद्यार्थीमा ज्वरो भेटिएमा तत्काल अभिभावकलाई सम्पर्क गरी स्वास्थ्य संस्था पठाइने गरेको विद्यालयले जनायो। विद्यालयको यस्तो कदमबाट अभिभावक पनि सन्तुष्ट देखिएका छन्। विद्यालयमा अभिभावकलाई पनि परीक्षण गरिएकाले हरेक विद्यालयले यस्तो प्रविधि अनुसरण गरी नियमित चेकजाँच थाल्नुपर्ने विद्यालयकी अभिभावक उमा थापामगरले बताइन्।
त्यसो त नेक्ससले मात्र होइन मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीले पनि विद्यार्थीको नियमित चेकजाँच गर्ने गरेको छ। एकेडेमीका संस्थापक प्राचार्य विष्णुकुमार घिमिरेले विद्यार्थी विद्यालयमा सुरक्षित होऊन् भन्ने अभिप्रायले नियमित चेकजाँच गराएको बताए।
काठमाडौंका विद्यालयले मात्र होइन यस्तो चेकजाँच देशका अन्य विद्यालयले पनि गरेका छन्। मोरङ गछियाको माउन्ट मकालु बोर्डिङ स्कुलले पनि विद्यार्थीको ज्वरो जाँच्ने काम गर्दै आएको त्यहाँका प्रिन्सिपल हेमन्त कार्कीले बताए। त्यसैगरी सिन्धुपाल्चोक चौताराको जुगल बोर्डिङ हाइस्कुलले पनि चेकजाँच गरेको प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए।
के कोरोनाजस्ता महामारी पहिले पनि फैलिएको थियो ?
विश्वमा विभिन्न समयमा विभिन्न महामारी फैलिने गरेको छ। १३औं शताब्दीमा ‘प्लेग’ रोगका कारण सरदरमा सातदेखि २० करोड मानिसको मृत्यु भएको थियो। सन् १३४६ देखि १३५३ सम्म उक्त महामारीले युरोप, अफ्रिका तथा एसियामा धनजनको क्षति भएको थियो। मुसा र जहाजबाट विभिन्न देश घुम्ने यात्रुहरूबाट यो महामारी फैलिएको थियो। मुसामा बस्ने उडुस, उपियाँमा रहेको रहस्यमय ब्याक्टेरियाको सिकारमा परी तीन महाद्वीप ध्वस्त भएका थिए।
सन् १९७६ मा कंगोमा पत्ता लागेको एड्स सन् १९८१ देखि महामारीकै रूपमा सुरु भई हालसम्म करिब तीन करोड ६० लाख मानिसको मृत्यु भइसकेको छ। सन् १९१८ मा ‘फ्लु महामारी’ले महामारीको भयानक रूप लिएको थियो। विश्वयुद्धपछि उत्पन्न भएको यो फ्लुका कारण विश्वभरि करिब ५० करोड मानिसलाई संक्रमित बनायो भने मृत्यु हुनेको संख्या पाँचदेखि १० करोड पुगेको थियो।
अन्य इन्फ्लुएन्जाका कारण बढी मात्रामा वृद्ध तथा बच्चाहरूको मृत्यु भएको थियो। सन् १९१८ को ‘स्पेनिस फ्लु’ युद्ध तथा विश्वव्यापी व्यापारका कारण विश्वभरि फैलियो र चर्चित भयो। स्पेनले युद्धमा मृत्यु भएका सेनाहरूबारे जानकारी सार्वजनिक गर्यो। त्यसैले यो महामारीलाई ‘स्पेनिस महामारी’ पनि भनिन्छ। त्यस्तै सन् १८५२ देखि १८६० सम्म ‘कोलेरा महामारी’ फैलियो। कोलेरा अर्थात् हैजाका कारण १० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। भारतको गंगातटीय क्षेत्रबाट सुरु भएको उक्त महामारी एसिया, युरोप, उत्तर अमेरिका तथा अफ्रिकासम्म फैलिएको थियो। त्यस वर्ष बेलायतमा लगभग २३ हजार मानिसको कोलेराकै कारण मृत्यु भएको थियो।
हाल फैलिइरहेको कोरोना भाइरस भर्खरै आएको भाइरस भने होइन। यसका फरक प्रकृतिहरू पहिले पनि देखिएका थिए। मुख्यतः श्वासनलीमा असर गर्ने यस्तै भाइरस सार्स सन् २००३ मा देखिएको थियो। सार्स अर्थात् सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम। तर सात महिनामा सार्स नियन्त्रण सम्भव भयो। तर, त्यति बेलासम्म संसारभरि आठ हजारभन्दा बढी संक्रमितमध्ये ३२ देशका आठ सयभन्दा बढीको मृत्यु भएको थियो।
कोभिड–१९ को अहिलेसम्म कुनै खोप वा औषधि बनिसकेको छैन। त्यसैले यस्ता महामारी फैलिनबाट रोक्न हामी स्वयं नै सजग हुनुपर्छ।
के के छन् लक्षण ?
कोरोना भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरू देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुन्छ। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ।
कसरी सर्छ कोरोना ?
कोरोना भाइरस सामान्य रुघाखोकी जस्तै श्वासप्रश्वासको माध्यमबाट सर्छ। तर, यसको सर्ने तरिकाबारे यकिन पनि हुन भने सकेको छैन। यो भाइरस संक्रमितको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गरेको पाइएको छ।
बच्न के गर्ने ?
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। यो भाइरसबाट बच्न संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुनपानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।