कोरोनाले विद्यार्थीमा मनोसामाजिक समस्या
डा. कञ्चन दाहाल । कोभिड १९ नामक कोरोना भाइरसले अहिले विश्वव्यापी प्रभाव पारिरहेको छ। यो भाइरसको संक्रमण पहिलोपल्ट हाम्रो छिमेकी राष्ट्र चीनमा देखिएको थियो। नेपालमा अहिलेसम्म कुनै पनि व्यक्तिलाई यसको संक्रमण नदेखिएको सरकारी तथ्यांकले देखाएको छ। तर पनि भविष्यमा देखा पर्न सक्ने खतरालाई चिर्नको लागि योजना बनाउनु अति आवश्यक छ।
यो नयाँ खालको भाइरसको चर्चा परिचार्चाले नेपालका बालबालिकालाई पनि चिन्तित तुल्याउन थालेको देखिएको छ। आफू वरिपरि कसैलाई सामान्य रुघाखोकी लागेमा, त्यो कोरोना भाइरसको संक्रमण नै पो हो कि भन्ने त्रास हिजोआज बढेको पाइन्छ। अनि आफूलाई पनि रुघाखोकी लाग्दा वा टाउको दुख्दा, त्यो पनि कोरोना भाइरसकै संक्रमण हो र अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बालबालिका एवं विद्यार्थीमा बढ्दै गएको पाइन्छ।
यस्तो खालको सोचाइ बढेपछि बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्याहरू पनि देखा पर्न थालेका छन्। समय बित्दै जाँदा यसले विकराल रूप नलेला भन्न सकिने अवस्था छैन। छाती हल्लिएको जस्तो हुने, रिंगटा लाग्ने, छटपटी हुने, अब मरिने हो कि भन्ने सोचाइ बढ्ने, टाउको दुख्ने, हातगोडा काम्ने, राति निद्रा नलाग्ने, मन हतास हुने, एकोहोरो हुने, अरूसँग बोल्न मन नलाग्ने, पढ्न लेख्न मन नलाग्ने, एक्लै बस्ने जस्ता समस्याहरू धेरैजसो बालबालिकामा देखिन थालेका छन्।
हामीले बुझ्नुपर्ने कुरा के छ भने यस्ता खालका तनावपूर्ण अवस्थामा बालबालिकाले आफ्ना अभिभावक, शिक्षकशिक्षिका वा आफूभन्दा ठूला व्यक्तिहरूबाट सल्लाह लिने वा सिक्ने गर्छन्। अभिभावक नै धेरै आत्तिएपछि बालबालिकामा चिन्ता तथा अन्योल स्वाभाविक रूपमा बढ्छ।
कोभिड १९ बाट आफ्ना बालबालिका एवं विद्यार्थीलाई सुरक्षित राख्न विद्यालयले कोसिस जारी राखेका छन् भन्ने आश्वासन दिँदा पनि उनीहरूका मनका चिन्ता अलि कम हुन सक्छन्। बालबालिकाको एउटा तहसम्मको चासोको उपयुक्त रूपमा सम्बोधन गर्दा उनीहरूको आत्तिने समस्या कम हुन्छ। उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न लगाएर, उनीहरूले बुझेका कुरालाई तनावमुक्त विषयमा रूपान्तरण पनि गर्न सकिन्छ। यस्तो बेलामा बालबालिकालाई आफ्ना विचार र डर व्यक्त गर्न अरू समयमा भन्दा बढी समय दिने तथा उनीहरूका कुरा ध्यान दिएर सुन्दा उनीहरूमा तनाव कम हुने गर्छ।
कुनै पनि महामारीको समयमा एउटा विशेष समुदायलाई दोष देखाउने मानवीय स्वभाव हुन्छ। दोषयुक्त हल्का खालका टिप्पणीले बालबालिकाको कलिलो मस्तिष्कमा त्यो समुदायप्रति नकारात्मक धारणा बन्न जाने पनि हुन्छ, जसको असर दूरगामी हुने गर्छ। त्यसैले बालबालिकाको अगाडि कसरी यस्तो समयमा प्रस्तुत हुने कस्ता खालका धारणा बनाउने भन्ने ठूलो भूमिका अभिभावक तथा शिक्षकशिक्षिकाको हुने गर्छ।
अहिले सामाजिक सञ्जाल, टेलिभिजनबाट हरपल सूचना आइरहेको हुन्छ। ठूला व्यक्तिलाई लक्षित गरेर बनाइएका सामग्रीले, बालबालिकालाई झनै भ्रम सिर्जना गर्ने र तनाव बढाउने हुन सक्छ। कोभिड १९ बारे सूचनाहरूको छिटोछिटो अध्यावधिक गर्दा पनि बालबालिकालाई तनाव दिन सक्ने हुन्छन्। सामाजिक सञ्जाल चलाउने र टेलिभिजन हेर्ने समयको सीमा तोक्ने तथा कोभिड १९ को बारेमा आइरहेका अप्रिय समाचार बालबालिकाका सामुन्ने नहेर्ने वा नसुन्ने गर्नुपर्छ। अभिभावकले यसो गर्नाले माथिको समस्यालाई कम गर्न मद्दत गर्छ।
बालबालिकाले सही सूचनाको अभावमा कोरोना भाइरसबारे अनावश्यक कल्पनाहरू गर्ने गर्छन् ,जसले उनीहरूमा अनावश्यक तनाव हुने गर्छ। त्यसैले बालबालिकालाई यो भाइरस नजिकको सम्पर्क, खोकी र हाछ्यूँबाट सर्न सक्छ भनि सम्झाउने र यी प्रक्रियाबाट आफूलाई जोगाउन उनीहरूलाई प्रेरित गर्नुपर्छ। तनाब कम गर्न बालबालिकालाई तलका विधिहरू सिकाउनुपर्छ।
१.आफ्ना हातहरू धेरैपल्ट धुनुपर्छ। प्रत्येक पटक हात धुँदा कम्तीमा पनि २० सेकेन्ड लगाएर साबुनपानीले धुने गर्नुपर्छ।
२. खोक्दा वा हाछ्यूँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्छ।
३. अरूको खाजा वा पानी खानु हुँदैन।
४. हात मिलाउनुको सट्टा नमस्ते गर्ने बानी बसाल्नु पर्छ।
५. बालबालिकालाई रुघाखोकी लागेमा, ज्वरो आएमा स्कुल पठाउनु हुँदैन।
६. बालबालिकालाई कोरोना भाइरसको कारणले अत्यधिक तनाव भएमा नजिकैको मनोविद् वा मनोचिकित्सकसँग सरसल्लाह गर्नुपर्छ।
बालबालिकाले प्रायःजसो आफ्ना चासोहरू सजिलै व्यक्त गर्दैनन्। तर उनीहरू अनावश्यक तनावमा अल्झिरहेका हुन्छन्। त्यसैले अभिभावक तथा शिक्षकहरूले उनीहरूको चासोलाई शारीरिक हाउभाउबाट पनि बुझ्नुपर्ने हुन्छ। कोरोना भाइरसको आतंकले बालबालिकामा सिर्जना गरेको मनोसामाजिक समस्या तथा तनावलाई कम गर्न अभिभावक तथा शिक्षकशिक्षिकाको महत्वपूर्ण भूमिका हुनेमा नकार्न सकिँदैन।
(डा.दाहाल मनोचिकित्सक हुन्।)