संसदीय समितिले बजार अनुगमन गर्ने
काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले डिजेल, पेट्रोल र ग्यासको अभाव हुन नदिन अनुगमन गर्ने भएको छ। कोरोना भाइरसले विश्व अर्थतन्त्रमै समस्या सिर्जना गरिरहेका बेला नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको कालोबजारी रोक्न समितिले सक्रियता देखाएको हो।
समितिका सभापति विमल श्रीवास्तवले सोमबार नेपाल आयल निगमको थानकोट डिपोलगायतको भण्डारण क्षमताका अनुमगन गर्ने जानकारी दिए। पेट्रोलियम पदार्थ, ग्यासलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन अुगमनलाई तीव्रता दिने सरकारको तयारी छ। समितिले सरकारको काममा निगरानी राखी कृत्रिम अभाव हुन नदिन खबरदारी गर्ने भएको छ।
समितिले आइतबार आयल निगमका पदाधिकारीसँग ग्यास, पेट्रोल र डिजेलको माग र वितरणका बारेमा छलफल गरेको थियो। सभापति वास्तवले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सचिवसहित आपूर्तिसँग सरोकार राख्ने अन्य निकायसँग छलफल गर्ने तयारी गरेका छन्।
कोरोनाको त्रास बढेसँगै ग्यास खपत गर्ने क्रम बढेको छ। व्यपारीले यसको मौकामा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्न थालेका छन्। सरकारसँग ग्यास भण्डारण क्षमता छैन। कोरोनाको क्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने गरेका छन्। आयल निगमका अनुसार डिजेल, पेट्रोलभन्दा ग्यास खपत गर्नेको संख्या ह्वातै बढेको छ।
संसाद प्रकाश रसाइलीले समितिले सरकारको काममा निगरानी राखेर कृत्रिम अभाव सिर्जना हुन नदिनेतर्फ सक्रिय भएको बताए। ‘हामी आफैं निगमको भण्डारण क्षमता र अहिलको अवस्थाको अनुगमन गर्दै छौं’,उनले भने,‘त्यसपछि डिलरले कसरी बिक्रीवितरण गरिरहेका छन् भन्ने विषयमा पनि अध्ययन गर्नेछौं।’
नेपाल आयल निगमनका अनुसार देशभर एक करोड १२ लाख सिलिन्डर छन्। अहिले मासिक ३० लाख सिलिन्डर चाहिन्छ। निगमका नायव कार्यकारी निर्देशक नगेन्द्र शाहले अहिले ३४ लाख सिलिन्डर बजारमा गएको बताए। ‘सबै एकैचोटि बजारमा आउँदा समस्या भएको हो’,उनले भने,‘ वितरण पहिलाभन्दा बढी नै छ।’ गत वर्ष एक लाख १७ हजार सिलिन्डर ग्यास आएको थियो। यस वर्ष एक लाख २२ हजार सिलिन्डर ग्यास आइरहेको छ। केही डिलरले पनि बढदमासी गरेको नियमले स्वीकारको छ। अभाव हुन नदिन अनुगमन गरिरहेको र दोषि भेटिए कारबाही गर्ने उनले बताए। ‘मागअनुसार आपूर्ति गरिरहेका छौं’, उनले भने,‘ यसले कालोबजारी गर्न चाहनेले केही दिनमै स्टकमा राखेको भए पनि आफै निकाल्नेछन्।’
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको बताए। ३८ बुलेट काठमाडौं उपत्यकामा र अरु उपत्यकाबाहिर वितरण गरिने उनको भनाइ छ। ग्यासको भण्डारण नभएका कारण माग बढी हुने बित्तिकै केही समस्या सिर्जना हुने गरे पनि अभाव हुन नदिने उनको भनाइ छ।