कोरोना संक्रमण रोक्न सर्तकता
तानसेन/ बर्दिया : कोरोना संक्रमणबाट बच्न स्थानीय तह र अस्पतालले तयारी गरेका छन्। प्रदेश ५, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा सावधानी अपनाइएको हो।
भारतीय सुरक्षा निकायसँगको समन्वयमा पहाडी जिल्लामा समेत सचेतना अपनाइएको छ। तानसेनको लुम्विनी मेडिकल कलेजले कोरोना बिरामीलाई लक्षित गरी १० वटा आइसोलेसन बेड छुट्याएको छ। यसका लागि छुट्टै मेडिकल टीम समेत खडा गरिएको छ। बिरामी र आगन्तुकलाई दैनिक सचेतना अभियान सुरू गरिएको अस्पतालका मेडिकल निर्देशक डा. राजु शाक्यले बताए।
तर पटक पटक माग गर्दा समेत स्वास्थ्य मन्त्रालयले चिकित्सक र नर्सले लगाउने माक्स, गाउन लगायतका सामग्री नपठाएको उनको भनाइ छ। कोरोना संक्रमणबारे सचेतना कार्यक्रम गरेपनि आइसोलेसन बेड भने तयार गरेको छैन। पाल्पामा तीन अस्पताल तथा प्रदेशको समन्वयमा बिरामीको उपचार गर्ने, क्वारेन्टाइन र आइसोलेसन बेड राख्नेबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। माक्स प्रयोग गर्नेहरूको संख्या बढेको छ।
अहिले पाल्पामै ढाकाका मास्क तयार गरिएको छ। पाल्पा मदनपोखरा ढाका पसलले दैनिक २ हजार वटा माक्स उत्पादन गर्दै आएको छ। यहाँको माक्स रुपन्देही कपिलवस्तु, गुल्मी र पोखरासम्म पठाउने गरिएको सो पसलकी प्रोपाईटर शितम भण्डारीले बताइन्। अन्यत्र खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव देखिएपनि यहाँ त्यस्तो समस्या नभएको व्यापारी बताउँछन्। उपभोक्ताले सहजै ग्यास सिलिण्डर पाउने ग्यास व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यले बताए।
सीमा सील नहुने
भारतीय गृह मन्न्त्रालयले नेपालसँग जोडिएका विभिन्न चार नाकाबाट मात्रै आवत–जावत गराउने निर्णय गरेपनि बर्दियामा भने साना नाका बन्द हुने छैनन्। निगरानी र चेकजाँच बढाइने तर आउजाउ बन्द नहुने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
भारतीय अधिकारीहरूसँगको बैठकमा यस्तो सहमति भएको उनले जानकारी दिए। ‘सीमा सील गर्ने कुनै निर्णय भएको छैन, बरू नागरिकका दैनिक सरोकारका विषय सहज बनाउन दुवै देशका अधिकारीहरू सहमत भएका छौं, लामिछानेले भने। भारतसँग सीमा जोडिएका बर्दियाका गुलरिया, मधुवन, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकाका आवागमन क्षेत्रमा ७ वटा हेल्थ डेस्क स्थापना गरिएको छ।
बस चढ्नुअघि ज्वरो जाँच
पश्चिम नेपाल बस व्यावसायी प्रालीले यात्रुको तापक्रम मापन गरेर मात्र टिकट काट्ने भएको छ। सुरक्षित यात्रा र संक्रमित व्यक्तिको पहिचान गर्न सहज गर्न टिकट काउन्टरमा तापक्रम नापिने भएको हो। प्राली मातहत सञ्चालनमा रहेका काउन्टर मार्फत बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा यात्रुको तापक्रम परीक्षण गर्ने व्यवस्था गरिएको हो। प्रालिले आइतबार बुटवलमा पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो।
प्रतिक्रिया दिनुहोस !