गुप्तेश्वर बहुमुखी क्याम्पसमा ताला

गुप्तेश्वर बहुमुखी क्याम्पसमा ताला

कुश्मा : कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले क्याम्पस प्रशासनमा ताला लगाएका छन्। ९ महिनादेखि तलब नपाएको र प्रशासनले प्राध्यापकको सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरूले सोमबार तालाबन्दी गरेका हुन्।

क्याम्पसका २२ प्राध्यापक र ५ कर्मचारी आन्दोलित बनेका हुन्। ९ महिना तलब नपाउँदा पनि क्याम्पस प्रशासन र सञ्चालक समिति गैरजिम्मेवार बनेर बेवास्ता गरेको उनीहरूको आरोप छ। क्याम्पसका नयाँ र पुराना प्राध्यापकको सुविधामा विभेद भएको आरोप उनीहरूले लगाएका छन्। तालाबन्दीपछि क्याम्पसका प्रशासनिक काम प्रभावित भएका छन्। तालाबन्दी गरे पनि अध्यापन भने रोकेका छैनन्। ‘हाम्रा समस्याका कारण विद्यार्थीको भविष्य बिगार्ने काम गर्दैनौं,’ प्राध्यापक नवराज शर्माले भने, ‘क्याम्पस प्रशासन र सञ्चालक समितिले माग सुनुवाइ नगरेसम्म क्याम्पस प्रशासन सञ्चालन गर्न दिँदैनौं।’ उनले लामो समय समस्या समाधानमा सम्बन्धित निकाय कानमा तेल हालेर बसेको गुनासो गरे।

सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले क्याम्पसका प्राध्यापक र कर्मचारीको समस्या समाधान गर्ने प्रयास भइरहेको दाबी गरे। ‘विद्यार्थीको संख्या घटेसँगै क्याम्पस सञ्चालनमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘अन्य सहयोगी निकायबाट समेत क्याम्पसलाई सहायता आउन नसक्दा उहाँहरूलाई तलब दिन सकेका छैनौं।’ उनले नगरपालिकालगायत निकायले बेवास्ता गर्दा समस्या आएको बताए।

स्नातकसम्म अध्ययन हुने क्याम्पसमा अहिले २ सय ४० विद्यार्थी मात्र छन्। विद्यार्थी न्यून तर खर्च बढी भएकाले समयमा तलब दिन नसकिएको उनको भनाइ छ। जिल्लाका सामुदायिक क्याम्पसको आम्दानीको प्रमुख स्रोत त्रिवि अनुदान र विद्यार्थीसँग लिइने शुल्क नै हो। तर दिगो आयस्रोत नहुँदा निजी स्रोतका प्राध्यापकको तलब खुवाउनुपर्ने, पूर्वाधार विकास गर्नुपर्ने, मसलन्द खर्च, भैपरी आउने खर्च धान्नुपर्ने चुनौति क्याम्पसहरूलाई छ।

सदरमुकामका क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक १० लाख हाराहारी अनुदान दिँदै आए पनि ग्रामीण क्षेत्रका क्याम्पसमा विद्यार्थी संख्या, नतिजा, पूर्वाधारलगायत मापदण्ड नपुग्दा अनुदानबाट वञ्चित छन्। समुदायमा देउसीभैलो खेलेर, लाहुरेको स्वागत गरेर र नेताका जोडबलमा विभिन्न निकायबाट आर्थिक सहायता पाए पनि दिगो आम्दानीको स्रोत नहुँदा आर्थिक संकटबाट गुज्रिइरहेका छन्।

नेपाल पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गोविन्द पहाडीले त्रिविले सम्बन्धन दिएका क्याम्पसलाई मात्रै अनुदान दिने, तर समुदायले खोलेका क्याम्पसलाई अनुदान नदिने गरेको गुनासो गरेका छन्। पछिल्ला केही वर्षदेखि जिल्लाका सबैजसो सामुदायिक क्याम्पस आर्थिक समस्याग्रस्त छन्। जिल्लाका एक दर्जनभन्दा बढी सामुदायिक क्याम्पस आर्थिक समस्यामा छन्। उनीहरूले दैनिक, मासिक र बार्षिक खर्च चलाउन समेत धौ धौ परिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.