लोप हुँदै लालीगुराँस

लोप हुँदै लालीगुराँस

उदयपुर : पाँच वर्ष अघिसम्म फागुन र चैतमा महाभारत क्षेत्र पुग्दा डाँडाकाँडा नै रातै देखिन्थे। बाहिरबाट जाने जोकोही मनमोहक दृश्य देखेर फोटो नखिची फर्कंदैनथे।

डाँडाभरि ढकमक्क फुलेर पहाडको सौन्दर्य झल्काउने ती राष्ट्रिय फूल लालीगुराँस हिजोआज क्रमशः लोप हुँदै जान थालेको छ। विकास निर्माणले गति लिएसँगै जथाभावी खनिएका सडकबाटोका कारण लालीगुराँस लोप हुँदै गएको इनामेकी सुशीला लामिछानेले बताइन्। उनले भनिन्, महाभारत क्षेत्रमा सडकको ट्र्याक खोल्ने क्रममा लाखौं लालीगुराँसका बोटहरू नष्ट गरिएको छ। रूखबिरुवा नहेरी बीच जंगलबाट सडक खनिएको छ। एकातर्फ लालीगुराँसका बोट नष्ट भएको र अर्कातर्फ नयाँ ट्र्याकले पहिरो जाँदा बोटविरुवा नै बगाएको उनले बताइन्।

बढ्दो वनविनाश, जनसंख्या वृद्धि, जलवायु परिवर्तन र जथाभावी खोलिएका सडककै कारण लालीगुराँस लोप हुँदै गएको प्रकृतिप्रेमी समूहका सदस्य दिनेश श्रेष्ठले बताए। उनले भने, ‘विकास भनेकै सडक भन्ने बुझाइ छ, सडक बनाउँदा प्रकृतिमा कति असर पुग्छ भन्ने हेक्का छैन। यसले गर्दा लालीगुराँस जस्ता करोडौं बोटविरुवा नष्ट भएका छन्।’

जसरी राष्ट्रिय जनावर गाई काट्दा कारबाही हुन्छ, त्यसरी नै लालीगुराँसको बोट काट्दा र फूल टिप्दा कारबाही हुनुपर्छ तब मात्र केही संरक्षण हुन सक्ने जाँतेका केशरकुमार राई बताउँछन्। यद्यपि केन्द्र, प्रदेश र स्थानीय सरकारले नीतिगत रूपमै लालीगुराँस संरक्षण गर्नुपर्ने बताए।

संरक्षणमा ध्यान नदिने हो भने हामीपछिका पुस्ताले राष्ट्रिय फूल लालीगुराँस भन्ने किताबमा मात्र पढ्न पाउने राईले बताए। जिल्लाको महाभारत क्षेत्र लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिका क्षेत्रमा पाँच वर्षअघि प्रशस्त पाइने लालीगुराँस पछिल्लो समय संरक्षणकै अभावमा लोप हुँदै गएको त्रियुगा माध्यमिक विद्यालय गाईघाटका प्राचार्य सुवास विष्टले बताए।

शिशिर ऋतुमा हिमाली र उच्च पहाडी जिल्लामा थरीथरी रङमा फुल्ने लालीगुराँस संरक्षण गर्न सके आम्दानी पनि बढाउन सकिने विष्टको भनाइ छ। पर्यटकलाई नै लोभ्याउन सक्ने लालीगुराँसलाई पर्यटकीय क्षेत्रको दृष्टिले संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए।

तर, राज्यले संरक्षण गर्न हालसम्म कुनै योजना नबनाउँदा दिनप्रतिदिन लोप हुँदै गएको उनले बताए। यसको महŒव नबुझ्दा स्थानीयवासीले दाउराका रूपमा प्रयोग गर्ने गरेका छन्। ‘कटारी नगरपालिका–११, १२ र १३ का एक दर्जन वन क्षेत्रलाई लालीगुराँसकै वन भनेर चिनिन्थ्यो’, कटारी बजारका जीवनाथ दाहालले भने, ‘तर, संरक्षणको अभाव र चेतनामा कमी हुँदा दाउराको रूपमा प्रयोग भएर सकिए।’

ताप्ली पोखरीका ८१ वर्षे लालध्वज मगरले महाभारत क्षेत्रमा रातो गाढा रङ भएको, सेतो अनि हल्का गुलाबी रङ देखिने गुराँस पाइने गरेको बताए। ‘त्यसको पनि विभिन्न प्रजाति हुँदो रहेछ’, उनले भने, ‘सबैको नाम थाहा भएन तर सातआठ प्रकारका लालीगुराँस पाइन्थ्यो, अब हराउँदै गएको छ, अहिले रातो त्यो पनि न्यून पाइन्छ।’

यस वर्ष समयअगाडि नै लालीगुराँस फुलेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए। जलवायु परिवर्तनले गर्दा सिजनअगावै फुलेको हुन सक्ने उनको अनुमान छ। लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकाभर फुल्ने गुराँस संरक्षणमा अभियान चलाइने बताए। ‘गाउँपालिका अन्य गाउँपालिकासँग सहकार्य गरेर संरक्षण अभियान नै चलाउने तयारीमा छ’, उनले भने, ‘उदयपुरको महाभारत क्षेत्रको लालीगुराँसलाई पर्यटनसँग जोडेर संरक्षण गर्नुपर्ने बेला आएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.