गल्ती अभिभावकको, सजाय भोग्दै शिशु
खाँदबारी : आमाबुबाले गरेको गल्तिको सजाय भोग्दै दुई महिने शिशु अहिले कारागार छन्। चिचिला गाउँपालिका–५ घर भएकी सुस्मा विश्वकर्मा बहुविवाह मुद्दामा हिरासतमा रहेका बेला शिशुको जन्म भएको थियो। विशेष स्याहारसुसार गर्नुपर्ने समयमा आमा र बच्चा दुवै जिल्ला कारागार खाँदबारीमा छन्।
५३ दिने शिशुको विशेष स्याहार र सुत्केरी आमा पौष्टिक आहारबाट वञ्चित भएका छन्। अवोध शिशुको कुनै दोष नभए पनि बुबाआमाको कर्मको कारण बाहिर वातावरणसमेत केही बुझन नसक्ने अवस्थामा कारागारमा दिनचर्या बिताइरहेका छन्। हजार दिनका आमा पौष्टिक आहारको आवश्यक भए पनि शिशु अहिले कारागारमा कैदी जीवन बिताइरहेकी छन्।
गत माघ १६ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै जन्मिएकी ति शिशुसहित उनको बुबा भक्तबहादुर र आमा सुष्मा विश्वकर्मालाई गएको फागुन १४ गते कारागार चलान भएको जिल्ला कारागारका जेलर विनोद अधिकारीले जानकारी दिए। उनले भने–‘अवोध शिशुको कुनै दोष नै छैन् तर पनि उनको बाबु–आमा कारागार चलान भएपछि रेखदेख र हेरचाहको लागि भए पनि सँगै कारागारमा राखिएको छ।’
जेलमा बच्चा जन्मिएकाले बच्चाको नाम समेत जेलिशा नै राखेका छन्। नवजात शिशुलाई न्यानो सफा कपडाको आश्यक हुने भए पनि हिरासतमा जन्मिएकी शिशुलाई पर्याप्त कपडासमेत नभएको महिला अधिकारकर्मी बविता कटुवालले बताइन्। शिशु र आमाको अस्वस्था हेरेर शिशुलाई आवश्यक केही न्यानो कपडाहरू दिएको कटुवालले जानकारी दिइन्।
सुत्केरी आमालाई अहिले पर्याप्त पौष्टिक आहारा आवश्यभ भए पनि कैदी हुँदा त्यो पूरा हुन नसकेको बविता बताउँछिन्। सुत्केरी आमा र बच्चाका लागि छुट्टै बासको व्यवस्था पनि छैन। अन्य कैदीसँगै आमा र बच्चालाई राख्दा दुवैको स्वास्थ्यमा असर पुग्न सक्ने कटुवालको भनाइ छ।
सभापोखरी गाउँपालिका–६ बस्ने भक्तबहादुर विश्वकर्माले चिचिला गाउँपालिका–५ घर भएकी सुस्मा विश्वकर्मालाई दोस्रो विवाह गरेका थिए। दोस्रो विवाह गरेको थाहा पाउने बित्तिकै भक्तबहादुरकी जेठी पत्नी रुमिता विश्वकर्माले जिल्ला प्रहरी कार्यालय संखुवासभामा आफ्नो पतिविरुद्ध बहुविवाहको मु्द्दा दर्ता गरेकी थिइन्। मुद्दा दर्ता भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो। माघ १५ मा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतको आदेशमा फागुन १४ गते कारागार चलान भएका हुन्।
बहुविवाह मुद्दामा लागेका सुष्मालाई ७५ हजार र भक्तबहादुरलाई २ लाख ३५ हजार रुपैयाँ धरौटी रकम जिल्ला अदालत संखुवासभाले तोकेको थियो। धरौटीवापतको रकम तिर्न नसक्दा उनीहरूलाई कारागार चलान गरिएको जिल्ला अदालतका स्रेस्तेदार डिल्ली प्रसाइँले बताए। उनीहरूले अझै पनि धरौटीवापतको रकम बुझाए तारेखमा छुट्नसक्ने स्रेस्तेदार प्रसाइँ बताउँछन्।
प्रतिक्रिया दिनुहोस !