त्रासले खाद्यान्न जोहो
![त्रासले खाद्यान्न जोहो](https://annapurnapost.prixacdn.net/media/albums/khadhyanna_20200323062032_KEvBKSwTEu.jpg)
मुगु : कोरोनाको त्रासले सरकारी र गैरसरकारी कार्यालय बन्द हुने भएपछि मुगुवासी खाद्यान्नको जोहो गर्न थालेका छन्। खाद्य संस्थान शाखा र साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालयसमेत बन्द हुने हल्ला चलेपछि नुन र चामल लिन संस्थानमा भीड लागेको हो।
नुन र चामल लिन आउनेको संख्या ह्वात्तै बढेको छ। दुधे बालबालिका बोकेर गाउँबाट खाद्यान्न लिन संस्थान आइपुगेकी छायानाथ रारा नगरपालिका—५ कि करिस्मा भामका अनुसार कोरोनाको त्रासले खाद्य संस्थान बन्द भए गाउँमा भोकमरी चल्ने देखिएपछि स्थानीयले खाद्यान्न जोहो गर्न थालेका हुन्। एक घण्टा लाइन बसेर चामल किनेको उनले बताइन्।
छायानाथ—१३ का प्रेम रावतले भने, ‘बजारमा पनि खाद्यान्न पाइन्छ। तर त्यहाँभन्दा सस्तो भएपछि एकै पटक धेरै चामल किन्न आएको हुँ।’ संस्थानमा चामल लिनेको भीड बढेपछि एक जनालाई एक पटकमा ३० किलोग्राम मात्र दिने व्यवस्था गरिएको छ। तर छायानाथ—११ का बिर्ख बुढाले ठूलो परिवारका लागि ३० किलोग्राम थोरै भएको असन्तुष्टि व्यक्त गरे। खाद्यमा हाल २६ क्विन्टल चामल मात्र छ।
सोरु गाउँपालिकाको सोरुकोट डिपोमा ३ सय क्विन्टल, मुगुम–कार्मारोङ गाउँपालिका पुलु डिपोमा ४ सय क्विन्टल, खत्याड गाउँपालिकाको श्रीकोट डिपो र रातापानी बिक्री केन्द्रमासमेत चामल छ। समयमै ठेकेदारले सबै डिपोमा थप खाद्यान्न ढुवानी गर्न नसकेको संस्थानका निमित्त प्रमुख पुष्कर भामले बताए। साल्ट ट्रेडिङको शाखा प्रमुख खगेन्द्र कार्कीले बन्दको हल्ला भए पनि कार्यालय खुला नै रहने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)