कोरोना जोखिम नियन्त्रण : गोरखाका हिमाली गाउँमा आवागमन बन्द
गोरखा : कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाका हिमाली गाउँबीच आवागमन बन्द गरिएको छ। चुमनुब्री गाउँपालिका१ सामागाउँ र वडा २ ल्होका टोलटोल बीच दुई सातासम्म आवागमन बन्द गरिएको वडाअध्यक्षले जानकारी दिए।
वडा नम्बर १ को बिहीबार बसेको बैठकले सामागाउँ र २ को ल्हो बीच आवागमन बन्द गर्ने निर्णय गरेको छ। दुई गाउँको बीचमा पर्ने स्याला खोलाको पुल नतर्ने निर्णय गरेको वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
त्यस्तै वडा१ कै सामा र साम्दोका बासिन्दा बुढीगण्डकीको पुल तरेर वारिपारि नजाने निर्णय भएको उनले बताए। ‘चैतभरि सामाको मान्छे साम्दो पनि नजाने, ल्हो पनि नजाने निर्णय भएको छ। गाउँभित्र पनि जरुरी कामबाहेक बाहिर ननिस्कने निर्णय भएको छ’, उनले भने, ‘हाम्रो गाउँमा मोटरबाटो पनि छैन। कोही बिरामी परे भने कोरोना परीक्षण गर्न सात दिनको बाटो बोकेर सदरमुकाम पुर्याउनु पर्छ। त्यसैले सजग अपनाउनुको बिकल्प छैन।’
वडा नम्बर २ को ल्हो, ल्ही र स्यो गाउँ बीच आवतजावत बन्द गरिएको वडाअध्यक्ष पेम्बारेता लामाले बताए। ‘ल्होको मान्छे स्योमा नजाने, स्योको मान्छे ल्होमा नजाने त्यस्तै स्योका मान्छे अरु गाउँमा नजाने, अरु गाउँका मान्छे पनि स्योमा नजाने निर्णय भएको छ।’ हिमाली गाउँहरु एकै ठाउँमा झुरुप्प हुने भएकाले कोरोनाको संक्रमण फैलिएमा गाउँ नै सोत्तर हुने भएकाले उच्च सतर्कता अपनाएको उनले बताए।
गाउँमा यातायातको सुविधा नभएकाले कोही बिरामी परेरमा हेलिकोप्टर चार्टरका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको वडा सदस्य मिङ्मार लामाले जानकारी दिए।
दैनिक उपभोग्य सामग्री ढुवानीको एकमात्र साधन खच्चड भएकाले वडाअध्यक्षको अनुमति लिएर खच्चड आवतजावत गर्ने ब्यबस्था गर्ने निर्णय भएको वडा अध्यक्ष पेम्बारेताले बताए।
प्रतिक्रिया दिनुहोस !