खाद्यान्न चाहियो ? भाटभटेनीलाई फोन गर्नुहोस्...
भैरहवा : लकडाउनका कारण के तपाई घरमा खाद्यन्न सकिएर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । किनभने, भाटभटेनीको सुपरमार्केटको भैरहवा शाखाले यस क्षेत्रमा अत्यावश्यक खाद्यान्नको 'होम डेलिभरी' को सेवा सूचारु गरेको छ ।
अत्यावश्यक वस्तुको बजार संचालन भएमा भीडभाडले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै बिहीबार बसेको गृह मन्त्रालयको बैठकले काठमाडौं उपत्याका बाहिर अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेतालाई उपभोक्ताको मागअनुसार व्यवस्था मिलाई आपूर्ति व्यवस्थापन सहज बनाउने निर्णय गरेको थियो ।
लकाडाउनका कारण यस क्षेत्रका सर्वसाधरण घरमै बसेका छन् । खाद्यान्नका पसल समेत बन्द हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कतै एकाध पसल खुले पनि हुने भीडभाडले संक्रमणको जोखिम छ ।
लकडाउनका कारण घरमा बसेका सर्वसाधरणलाई खाद्यन्न अभाव हुन थालेपछि 'होम डेलिभरी' को सेवा सूचारु गरिएको भाटभटेनी सुपरमार्केटको भैरहवा शाखाकी प्रबन्धक संजिता तुलाचनले बताइन् । उनका अनुसार 'होम डेलिभरी' सेवा निःशुल्क छ ।
भाटभटेनीबाट चामल, दाल, तेल, तरकारीलगायत अत्याश्वक खाद्यान्न साम्रगीको मात्र 'होम डेलिभरी' हुने उनले बताइन् । जसका लागि भाटभटेनीको भैरहवा शाखाले दुईवटा मोबाइल नम्बर ९८०१२३४८४२ र ९८०१२४१४१९) सार्वजनिक गरेको छ ।
उपभोक्ताले यस नम्बरमा फोन वा म्यासेज गरेर आफ्नो अर्डर अनुसारको खाद्यन्न साम्रगी मागउन सक्ने प्रबन्धक तुलाचानले बताइन् । तर, भण्डार गर्ने हिसाबले कुनै पनि खाद्यन्न साम्रगी डेलिभरी नहुने उनले स्पष्ट पारिन् ।
'परिवारलाई आवश्यकता जतिको खाद्यान्न साम्रगी डेलिभरी गर्छौ,' उनले अन्नपूर्ण पोस्ट्सँग भनिन्, 'तर, कसैले आवश्यकता भन्दा बढी भण्डारण गर्ने हिसाबले ठूलो परिमाणमा साम्रगीको अर्डर गरे त्यस्तो अर्डर लिदैनौ।'
उनले 'होम डेलिभरी' सेवामा खाद्यान्न साम्रगीको मूल्यमा थप अतिरिक्त मूल्य नजोडिने र भाटभटेनीमा उपलब्ध रहेको मूल्यमा नै साम्रगीको डेलभरी हुने बताइन् । भाटभटेनीको भैरहवा शाखा देखि दक्षिण तर्फ बेलहिया सीमासम्म र अन्य दिशा (पूर्व, पश्चि, उत्तर) को ५ किलोमिटरसम्म सर्वसाधरणहरुलाई 'होम डेलिभरी' सेवा दिइने बताइन् ।