दुई बिरामीको नमुना परीक्षणका लागि पठाइयो

दुई बिरामीको नमुना परीक्षणका लागि पठाइयो

दैलेख : कोरोना भाइरस संक्रमणको आशंकामा दैलेखका दुई जनाको परीक्षण थालिएको छ। आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना भएका ती दुई जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णालीमै पुगेर उनिहरूको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको डा. पन्तले बताए। उनीहरूको राकमकर्णाली स्वास्थ्य चौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ। ‘दुवै जना बिरामीको स्वास्थ्यमा सुधार आइरहेको छ,’ डा. पन्तले भने।

त्यसैगरी, कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न दैलेखको दुल्लु नगरपालिकाका २० जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतबाट मजदुरी गरेर घर फर्किएका दुल्लु नगरपालिकाका २० जनालाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख घनश्याम भण्डारीले बताए। उनीहरूलाई दुल्लु नगरपालिका–२ स्थित भानेश्वर माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ। कोरोनाको आशंका नभए पनि सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको नगरपालिकाकाले जनाएको छ। उनीहरूलाई सुरक्षाका लागि १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

कारोनाको शंकास्पद लक्षण देखिएको बिरामीलाई राख्न दैलेखमा ४७ बेडको आइसोलेसन बेड तयार गरिएको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति गणेशराज पन्तले बताए। जिल्ला अस्पतालमा ११, सरस्वती माविमा २०, प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा ४, राकमकर्णाली स्वास्थ्य चौकीमा ४, प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ४ र दुल्लु अस्पतालमा ५ गरी ४७ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको उनले बताए। सेनाले पाँच सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित सेनाको मेडिकल जनशक्तिलाई अभ्याससहित तयारी अवस्थामा राखेको गुल्मपति पन्तले जनाए।

यस्तै, जिल्लाका विभिन्न स्थानीय तहमा गरी जिल्लाभर २ सय ९० वटा क्वारेन्टाइन बेड तयार पारिएको छ। नारायण नगरपालिकाको नारायण क्याम्पसमा एक सय, चामुण्डाविन्द्रासैनी नगरपालिकामा ४५, दुल्लु नगरपालिकाका विभिन्न विद्यालयमा गरी एक सय १०, गुराँस गाउँपालिकामा ६, भगवतीमाई गाउँपालिकामा १४, महाबु गाउँपालिकामा ५ र भैरवी गाउँपालिकामा १० बेड गरी २ सय ९० बेडको क्वारेन्टाइन तयार पारिएको हो। जिल्लाका विभिन्न स्थानीय तहमा भारतलगायत मुलुकबाट आएका व्यक्तिको विवरण संकलन भइरहेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.