दुई युवतीसँगै आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि
बागलुङ : कोरोना संक्रमण पुष्टि भएका दुई युवतीसँगै एउटै विमानमा आएका बागलुङका एक युवालाई संक्रमण नभएको पुष्टि भएको छ।
गत चैत्र ५ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवतीसंगै आएका ती युवाको कोरोना परीक्षण रिर्पोटमा नेगेटिभ देखिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आइतबार कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएको पर्वत जिल्ला अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. शिशीर देवकोटाले जानकारी दिए। बिहीबार साँझ पर्वतको कुस्मा बजारस्थित कोरोना अस्थायी अस्पतालमा राखेर स्वाब परीक्षणका लागि पठाइएको थियो।
बागलुङ जिल्ला घर भएका युवा विदेशबाट आएपछि पर्वतको कुश्मा बजारमा होम क्वारेन्टाइनमै बस्दै आएका थिए।
कतार एयरको विमानबाट आएका काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि सोही विमानमा आएका अरु यात्रुको खोजी गर्ने क्रममा बागलुङका चारजना रहेको पाइएको थियो।
जसमा बागलुङ कुडुलेकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ढोरपाटनका युवाको आइतबार नमुना संकलन गरिएको छ। अर्की एक ६५ वर्षीया महिलामा भने हालसम्म कुनै लक्षण नदेखिएकाले बागलुङ नगरपालिका स्थित घरमै होम क्वारेन्टाइनमा रहेकी छिन्।
प्रतिक्रिया दिनुहोस !