घाट सेवामा ‘पिपिई’ नहुँदा असहज
काठमाडौं : पशुपति घाट सेवाका कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षामा आवश्यक पर्ने ‘पिपिई’लगायत सामग्री नहुँदा काममा असहजता आएको छ । सुरक्षाका लागि घाट सेवाका कर्मचारीलाई धोती फेर्नुपर्ने र जुत्ता फुकाल्नुपर्ने नियमलाई आपत्कालका लागि सहुलियत दिइ काम लगाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
‘पिपिई’बजारमा किन्न खोज्दा पाइएन, सरकारले उपलब्ध गराउन गरेको प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेको छैन, केही दिनमा ‘पिपिई’ दिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यतिन्जेललाई कपडा र जुत्ता लगाएर शव जलाउन सकिने व्यवस्था गरेका छौँ', उनले भने।
पासकै कारण भने घाट र मन्दिर सेवाको काम प्रभावित नभएको कोषले जनाएको छ । सुरक्षामा खटिएका प्रहरीले पास नभए पनि घाट र मन्दिर सेवाका कर्मचारीलाई रोकेको छैन ।
घाटमा सुरक्षा सामग्री नहुँदा भने कसैले काम गर्ने र कसैले नगर्ने गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । घाट सेवाका कर्मचारीले मृतक सबै कोरोनाकै बिरामी हुन् कि भन्ने शङ्काले शव जलाउन नमानेका र कर्मचारीका परिवारले पनि रोग फैलन सक्ने भएकाले काम नगर्न भन्दै दबाब दिएको कोषले जनाएको छ ।
कर्मचारीले काम नगरेपछि मृतकका परिवार र आफन्तले नै शव जलाउन थालेको सदस्य सचिव ढकालले सुनाए। पशुपति मन्दिरभित्र नित्य पूजा, रुद्राभिषेकजस्ता कर्म भने पूर्ववत् नै चलिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !