'सीमाका अलपत्र नेपालीबारे भारतसँग तत्काल उच्चस्तरीय वार्ता गर'
काठमाडौं : पूर्व उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले लकडाउनका बीच पनि भारतबाट नेपालीहरु सीमा क्षेत्रमा आइपुगेको नेपालीका विषयमा भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने बताएका छन्।
भारतमा लकडाउनका कारण सम्पूर्ण आवतजावत र यातायात बन्दका बेला पनि दैनिकजसो हजारौं नेपालीहरु सीमामा आइपुग्नुले कोरोना संक्रमणको जोखिम बढेको रावलको भनाइ छ।
'यतिबेला जो जहाँ छ, त्यही सुरक्षित बस्नुपर्ने हो', रावलले मंगलवार अन्नपूर्णसँग भने, 'तर भारतका विभिन्न क्षेत्रबाट दैनिकजसो हजारौं नागरिक नेपाली सिमामा कसरी पुगे ? भारतले आफ्ना नागरिक सरह उनीहरुमाथि व्यवहार गरेको छ वा छैन भन्ने विषयमा उच्चस्तरीय रुपमा नेपाल सरकारले कुराकानी गर्नुपर्छ ।'
प्राकृतिक विपत् बेला देशहरुबीच पारस्परिक आधारमा काम गर्नुपर्ने अन्तराष्ट्रिय मान्यता रहेको उल्लेख गर्दै रावलले भने, 'यस्तो बेला नेपाली नागरिकलाई खाद्य, स्वास्थ्य उपचारमा भारतले आफ्ना नागरिकसरह व्यवहार गर्नुपर्छ।'
नेपाल सरकारले भारतीय नागरिकको सुरक्षामा चिन्ता नगर्न भारत सरकारलाई आश्वस्त पारिसकेको र भारतबाट पनि नेपाली नागरिकमाथि त्यही व्यवहारको अपेक्षा गर्नुपर्ने रावलले बताए । उनले भने, 'नेपालमा लकडाउनको सुरुवाती चरणमा सूचनाको अभावमा नेपालीहरु भारतबाट सिमा क्षेत्रमा आइपुगे पनि हिजोआज पनि दैनिकजसो हजारौ नेपाली नागरिक सिमामा पुगिरहेका छन्। भारतमा परीक्षणबिनै नेपाल आउनु स्वयं व्यक्ति र उनीहरुका आफन्तका लागि पनि कोरोना भाइरस संक्रमणका दृष्टिकोणले खतराजन्य देखिएको छ।'
सीमामा आइसकेका व्यक्तिमाथि भने कुनै पनि दुर्व्यवहार नगरी राज्यले उनीहरुको उचित सुरक्षासहितका सबै व्यवस्था गर्नुपर्ने रावलले बताए । भारतले जाऊ भन्ने नेपालमा नआऊ भन्दा हजारौ नेपाली सिमामा अलपत्र परिरहेको सुनिन्छ, रावलले भने, 'नेपालले आफ्ना नागरिकको जिम्मा लिनुपर्छ । सिमामा आफ्ना नागरिकको पहिचान गर्ने, उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र विरामी भएकालाई उपचार र स्वस्थ देखिएकालाई क्वारेन्टाइनमा राख्न सम्वन्धित जिल्ला, गाँउ वा नगरपालिकाहरुको जिम्मा लगाउनुपर्छ ।’
लकडाउन यता भारतबाट लाख भन्दा बढी नेपालीहरु स्वदेश फर्केकाले सम्बन्धित गाउँ र नगरपालिकाले क्वारेन्टाइनमा राख्ने र उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने रावलले बताए।
नेपालसँग सिमा जोडिएका भारतका उत्तराखण्ड र उत्तर प्रदेशमा कोरोना संक्रमणको संख्या बढिरहेकाले सुदुरपश्चिम प्रदेश संक्रमणको जोखिममा रहेको रावलले बताए । सुदुरपश्चिमका अस्पतालमा आवश्यक परीक्षणका सामग्री, औषधी र अन्य सुरक्षाका सामग्रीको प्रयाप्त व्यवस्था गर्न रावलले केन्द्र सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस !