हिरासतमै झुण्डिएको अवस्थामा मृत फेला
कपिलवस्तु : प्रहरी हिरासतमै बुधबार राती एक थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपरामा आफ्नै छोरीको जबरजस्ती करणी मुद्धाअन्र्तगत थप अनुसन्धानका लागि थुनामा रहेका वाणगंगा नगरपालिका वडा नं. ८ का ३८ वर्षीय रमेश (नाम परिवर्तन) बिहान झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । थुनुवा कक्षसँगै रहेको शौचालयको भेन्टिलेसनमा तन्नाले बाँधेर झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
बिहान थुनुवा कोठामा सँगै रहेका अर्का थुनुवा शौचालय जान खोज्दा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। शौचालयको ढोका फोडेर हेर्दा रमेशको शव झुण्डिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक आयुष जोशीले बताए ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको टोली घटना स्थल पुगेको छ । घटना हत्या हो या आत्म हत्या अझै नखुलेको र त्यसतर्फ हामी अनुसन्धान सुरु गरेका छौं,' प्रहरी नायब उपरीक्षक सुनिल मल्लले भने।
मृतक रमेशले पटकपटक आफ्नै १६ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्दै आएको भनी उनकी पत्नीबाट रमेशविरुद्ध जबजरजस्ती करणीको मुद्धाका लागि किटानी जाहेरी गरिएको थियो ।
सोही जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतमा रमेशविरुद्ध जबरजस्ती करणी मुद्धा दर्ता गरी सम्पूर्ण अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुर्याइ सकेको थियो। कोरोना भाइरसको महामारीको संक्रमण फैलिएका कारण अदालतको कामकारबाही बन्द भएका कारण उनको मुद्धाको थप प्रक्रिया अघि बढेको थिएन।
प्रतिक्रिया दिनुहोस !