लकडाउनको असर : उपचार नपाएर अस्पतालमै छटपटाउँदै विरामी

लकडाउनको असर : उपचार नपाएर अस्पतालमै छटपटाउँदै विरामी

वीरगन्ज : धारामा चिप्लिएर लडेपछि बायाँ हात भाँचिएका वीरगन्ज इनर्वाका राजन राम उपचार नपाएर १० दिनदेखि नारायणी अस्पतालको बेडमा छटपटाइ रहेका छन्। शनिबार अस्पतालको बेड नम्बर ११२ मा भेटिएका राजनले अन्‍नपूर्ण अनलाइनसँग भने 'डाक्टरले अप्रेशन गरेर हातभित्र स्टिल रड हाल्नुपर्छ भनेका छन् , तर नर्सले लकडाउन नखुलेसम्म अप्रेशन हुँदैन घर जाउ भन्छन्।'

अस्पतालमा राजनसँगै कुरुवा बसेका उनका दाजु विजय भन्छन् 'पैसा भए प्राइभेट हस्पिटलमा लगेर भाइको अप्रेशन जसरी पनि गराइ हाल्थें तर हामी गरिब मान्छे हौं, लकडाउनमा कामधन्दा सब बन्द छ। खान पनि धौ धौ परिसकेको छ। 
चैत १३ गते चापकलमा पानी लिन जाँदा चिप्लिएर लडेका राजनको हात भाँचिएपछि उनलाई त्यहि साँझ नारायणी अस्पतालमा पुर्‍याइएको थियो।

डाक्टर राजदेव प्रसाद कुशवाहाले राजनको हातको भित्री हड्डी नै भाँचिएकाले शल्यक्रिया गरेर स्टिल रड हाल्नुपर्ने भएकाले तत्कालका लागि मलमपट्टी गरिदिएका थिए। तर अस्पतालमा भर्ना भएको शनिबार १० दिन बितिसक्दा पनि डाक्टरले राजनको हातको शल्यक्रिया गरेका छैनन्। 'डाक्टर सधै आउँछन्। भोलि अप्रेशन गरौंला भनेर जान्छन् , राजनका दाइ विजय भने 'तर नर्सले लकडाउन खुलेपछि मात्रै अप्रेशन हुनसक्छ। अहिले घर जाउ भनेर कचकच गरिरहेका छन्। बेलैमा अप्रेशन भएन भने घाउ बिग्रिएर भाइको हात नै काट्नु पर्ने हो कि भन्ने डर पनि लागि रहेको छ।' 

राजनसँगै अस्पतालको बेड नम्बर ११० मा खुट्टा भाँचिएर उपचारका लागि १० दिनदेखि कुरिरहेका समिर आलमको पीडा पनि उस्तै छ। चैत १२ मा मोटरसाइकल दुर्घटनामा परि दायाँ खुट्टा भाँचिएका समिरलाई आफन्तले उपचारका लागि शुरुमा बाराको अल्पाइन अस्पताल र त्यसपछि वीरगन्जको अपोलो अर्थो ट्रमा सेन्टर पुर्‍याएका थिए। 
तर दुवै निजी अस्पतालले उपचार गर्न नमानेपछि चैत १३ मा समिरलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनको खुट्टामा पनि शल्यक्रिया गरेर स्टिल रड हाल्नुपर्ने डाक्टर कुशवाहाले बताए पनि शनिबारसम्म उनको पनि शल्यक्रिया गरिएको छैन्।

बाराको बरियापुर घर भएका समिर भन्छन् 'आज १० दिन भइसक्यो डाक्टरले अप्रेशन गरेका छैनन्। नर्सले लकडाउन खुलेपछि मात्रै अप्रेशन हुन्छ भनेर जवाफ दिएका छन्। घाउ दुखाइको पीडा सहनै नसकिरहेको भन्दै उनी भन्छन् ,'घाउ यति धेरै दुखी रहेको छ कि सही नसक्नु छ , दुखाइको पीडाले रातमा निन्द्रा पनि लाग्दैन।

शुक्रबार राउण्डमा आएका डाक्टर कुशवाहाले शल्यक्रियाका लागि चाहिने औषधिलगायतका सामान अस्पतालमा नरहेकाले लकडाउन खुलेपछि मात्रै अप्रेशन हुने भन्दै घर जान सुझाएको समिरका बुबा समुल मियाले बताए। समुलले भने 'प्राइभेट अस्पतालले उपचार गर्न नमानेर फर्काइ दिएपछि सरकारी अस्पतालमा ल्याइयो तर १० दिन भइसक्यो यहाँ पनि उपचार पाइएको छैन्, अब कहा लग्ने? 
 
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले अस्पतालमा अहिले नेल प्लेट (स्टिल रड) नभएको र बजार पनि बन्द रहेकाले शल्यक्रिया गर्न नसकिएको बताए। उनले लकडाउन खुलेपछि मात्रै दुवै बिरामीको शल्यक्रिया गरिने बताए। अहिले लकडाउनमा सरकारले नै आकस्मिक बाहेकका अरु सेवा सुचारु नगर्ने निर्देशन दिएको उनले बताए।

उनले भने 'यदि हात खुट्टा नै काट्नुपर्ने इमरजेन्सी अवस्था नै हुन्छ भने हामी अप्रेशन गरिहाल्छौं। तर त्यस्तो अवस्था नभएर नै डाक्टरले रुटीन अप्रेशनमा राखेको हुन सक्छ। म यस विषयमा सम्बन्धित डाक्टरसँग बुझ्छु। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.