राहत बाँड्न आएका कलाकार र अभियन्ता चार घण्टा प्रहरी नियन्त्रणमा
वीरगन्ज : मुसहर वस्तीमा राहत बााड्न हेटौंडाबाट आएका कलाकार र सामाजिक अभियन्ताहरुको टोलीलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर साढे चार घण्टा पछि छाडेको छ। कोरोना भाइरसा कारण लकडाउनमा पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ को मुसहर वस्तीका १९ घरपरिवारलाई राहत सामाग्री बाड्न भोर नामक संस्थामा आबद्ध कलाकार र अभियन्ताहरुको टोली हेटौ|डाबाट निजी गाडीमा शनिबार बिहान हिँडेको थियो। मुसहरवस्तीमा जाँदै गरेको ५ जनाको टोलीलाई प्रहरीले भने पर्साको मनवाबाट शनिबार बिहान साढे ११ बजे नियन्त्रणमा लिएर वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर साढे ४ घण्टा पछि मात्रै छाडेको हो।
टोलीमा कलिउडका कलाकार कामेश्वर चौरसिया र चलचित्र निर्माता राजकुमार महतो पनि थिए। उनीहरुले मुसहरवस्तीका प्रति परिवारलाई १८ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, मसला १ प्याकेट, ४ पिस मास्क र दुई पिस साबुन बाड्न राहत सामाग्री ल्याएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले स्थानीय प्रशासनबाट अनुमति नलिई राहत बाँड्न लागेको खबर पाएपछि त्यहि विषयमा छानबिन गर्नका लागि प्रहरी कार्यालयमा ल्याइएको बताइन्। राहतस्थल र प्रकृयाबारेमा सोधपुछ गरेपछि अपरान्ह सवा ४ बजे छाडिदिएको उनले बताइन्।
राहत वितरण टोलीका अगुवा एंव भोर संस्थाका अध्यक्ष राज कुमार महत्तोले सम्बन्धित गाउँपालिकाको आग्रहमा आफुहरु राहत बाँड्न जाँदा प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा साढे ४ घण्टा राखेको बताए। मकवानपुरको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर नै आफुहरु हेटौंडाबाट हिँडेको भन्दै उनले भने 'समस्यामा परेका गरिब मुसहरहरुलाई राहत बाँड्न आएका हौं तर प्रहरीले अपराधी नै ठानेर हामीलाइ समातेर ४ घण्टा सम्म राख्यो।'
सखुवा प्रसानी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवालले पनि लकडाउनले समस्यामा परेका मुसरहरुलाई राहत बाँड्न भोर नामक संस्थासँग आफुले समन्वय गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !