बजार व्यवस्थित गर्न यस्तो छ सामाजिक दूरी
उदयपुर : कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि उदयपुरको सदरमुकाम गाईघाट बजारमा मापदण्ड बनाइएको छ । बजारलाई व्यवस्थित बनाउन त्रियुगा उद्योग बाणिज्य संघ, त्रियुगा नगरपालिका वडानं ११ र स्थानीय प्रशासनको सहयोगमा सामान खरिद बिक्री गर्दा सामाजिक दूरी कायम रहने गरी मापदण्ड तय गरिएको हो ।
सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा सूचारु गरेसँगै बजार व्यवस्थापन हुन नसक्दा जोखिम बढेको भन्दै सर्वसाधरणले चौतर्फी आलोचना हुन थालेपछि प्रशासनको सहयोगमा नागरिक समाजका अगुवाहरुले बजार मापदण्ड तय गरेका हुन् ।
नागिरक समाजको निर्णयसँगै स्थानीय प्रशासनले पनि तरकारी वजारलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति तथा प्रजिअको नेतृत्वमा रहेको विपद् व्यवस्थापन कमाण्ड गु्रपको टोलीले तरकारी वजारको अनुगमन पछि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
प्रायः साँझको समयमा तरकारी बजार भीडभाड हुने भएकाले त्यसलाई मध्यनजर गरी दूरी कायम गरेर तरकारी किन्ने, भीडभाड कम गर्ने, आफूलाई चाहिनेभन्दा अनावश्यक तरकारी नछुने जस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रशासनले नियम पालना गरी संक्रमणबाट बच्न र सरकारले लगाएको लकडाउनलाई सफल पार्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । भट्टराईले उपभोक्ताको आवश्यकता पूरा गरी संक्रमणको जोखिम कम गर्दै लकडाउनलाई व्यवस्थित बनाउन प्रशासनले यस्तो निर्णय लिएको हो ।
यता नागरिक समाजका अगुवाहरुले गाईघाट बजार अनुगमनपछि खाद्यान्न, दुग्धजन्य, मासु, औषधि तथा ग्यास पसल अगाडि सामाजिक दूरी कम्तिमा तीन फिट कायम रहने गरी गोलो घेराको संकेत राखेको छ । 'अधिकांश पसलमा भीडभाड बढ्न थालेपछि दूरी कायम रहने गरी गोलो घेरा राखेका हौं, अधिकारकर्मी महेश्वरी राईले भनिन्, 'त्यो घेरामा बस्दै आलोपालो गरेर सामान लिनेगरी मापदण्ड तय भएको छ।' उनले मापदण्ड कार्यान्वयन नभए कारवाहीसमेत गर्न सकिने बताइन् ।
'मापदण्ड हाम्रा लागि मात्र हैन्, स्वयंम व्यापारीको सुरक्षाका लागि पनि हो, अर्का अधिकारकर्मी सृजना दनुवारले भनिन्, 'भयाभह हुने अवस्थाबाट जोगिन केहि कोशिस गरेका हौं, त्यसैले आफू रहन सकियो भने मात्र व्यापार हुन्छ भन्ने सबैले सोचिदिनुपर्यो।'
त्रियुगा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रमेश रसाईलीले भीडभाड नियन्त्रणका लागि निश्चित समयमा पसल खोल्ने गरी व्यवस्था मिलाउन प्रशासनसँग अनुरोध गरिएको बताए ।