नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत, चार दशककै खराब अवस्था

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत, चार दशककै खराब अवस्था

काठमाडौं : विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेको महामन्दीलाई दृष्टिगत गर्दै विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । ६ महिनाअघि विश्व बैंकले नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । 

विश्व बैंकको अर्धवार्षिक प्रकाशन 'साउथ एसिया इकोनोमिक फोकस' सार्वजनिक गर्दै विद्यमान अवस्थालाई भयावह अवस्थाका रुपमा चित्रित गरिएको छ । दक्षिण एसिया क्षेत्रमा अहिलेको अवस्था चार दशक यताकै खराब रहेको विश्व बैंकले जनाएको छ । 

यसअघि नै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्रमा महामन्दीको अवस्था रहेको बताइसकेको छ । दोस्रो विश्वयुद्धपछि स्थापित ब्रेटोन वुड्स ट्वीन्स (विश्व बैंक र आइएमएफ) ले खराब अवस्थाको प्रक्षेपण गरेका छन् । यो भयाबह अवस्थाबाट आइएमएफले विश्व अर्थतन्त्रलाई 'बेल आउट' गर्न सम्भव नरहेको बहस सतहमा आएको छ । 

नेपालको उद्योग, व्यवसाय र सेवा क्षेत्रमा कोरोना भाइरसको महामारीले सबैभन्दा बढी धक्का लागेको छ । समग्र मागमा धक्का लागेको छ । विप्रेषण र आयातमा आधारित नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी सेवा क्षेत्रले ५८ प्रतिशत र कृषि क्षेत्रले २७ प्रतिशत योगदान दिएका छन् । सेवा क्षेत्रमा परेको मारले समग्र मागमा धक्‍का (डिमाण्ड शक) सँगै वित्तिय क्षेत्रमाथि सबैभन्दा ठूलो दबाब उत्पन्न हुने विश्व बैंकले उल्लेख गरेको छ । महामारी लम्बिदैं गए सेवा र औद्योगिक क्षेत्रमा थप संकुचन आउन सक्छ । 

विश्व बैंकका अनुसार महाव्याधिको सुस्त प्रभाव सन् २०२२ सम्म नै रहेनछ । सन् २०२२ बाट मात्र अर्थतन्त्र पुनःस्थापना हुनसक्ने उल्लेख छ । 

नेपालले विद्यमान अवस्थाबाट अर्थतन्त्रलाई पुनःस्थापना गर्नका लागि दातृ निकायहरुसँग थप सहयोगको याचना गरिरहेको छ । विश्व बैंकले जनस्वास्थ्य संकटकाललाई लक्षित गर्दै कोरोना भाइरस निरोध तथा उपचारका लागि स्वास्थ्य पूर्वाधारको अवस्थामा सुधार गर्न २ करोड ९० लाख सहुलियत ऋण दिएको छ । यसका अतिरिक्त विश्व बैंकको भगिनी संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग निजी क्षेत्रले सहुलियत कर्जा लिन सक्ने बताइएको छ । 

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हात्र्विग सेफरले नेपाललाई वार्षिक ५० करोड अमेरिकी डलरको सहायता पोर्टफोलियो उपलब्ध गराइएकोमा पाइपलाइनमा रहेका केही परियोजनालाई कोरोना भाइरस सिर्जित समस्याको सम्बोधनमा पुनप्र्राथमिकीकरण गर्न सकिने बताए । 'यो हप्ता थप सहयोगका सम्बन्धमा केही निर्णय हुनसक्छ,' उनले भने । 

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा आउने गिरावटले क्षेत्रीय अर्थतन्त्र  सुस्त हुनेछ । दक्षिण एसियाली अर्थतन्त्रको विस्तार यो वर्ष १.८ लेखि २.८ प्रतिशतको बीचमा हुनेछ । ६ महिनाअघि विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने आँकलन गरेको थियो ।

दक्षिण एसियाका सबैजसो देशले कोरोना भाइरस फैलन नदिन नागरिकहरुलाई घरमै बस्न आह्वान गर्ने 'घरबन्दी' को उपाय अनुसरण गरेका छन् । जसका कारण आर्थिक गतिविधि ठप्पप्राय छन् । आगामी वर्षभने दक्षिण एसियाको क्षेत्रीय आर्थिक वृद्धिदर ३.१ देखि ४ प्रतिशतसम्म हुनसक्ने अनुमान छ । ६ महिनाअघि विश्व बैंकले ६.७ प्रतिशत आर्थिक विस्तार हुने प्रक्षेपण गरेको थियो । 

विश्व बैंकका नेपाल कार्यालयका राष्ट्रिय व्यवस्थापक फारिस हदाद जर्भोसले नेपालमा कोरोना भाइरस महामारीको असर बढीरहेको छ भनेर आफूहरुले नजिकबाट नियालीरहेको बताए ।उनले भने, 'हाम्रो तत्कालको प्राथमिकता भनेको सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायसँग अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति, गरिब र जोखिममा रहेका समुदायका लागि बृहद् पुनरुत्थान प्याकेज हो ।'

न्यून आय भएका खासगरी पर्यटन, आतिथ्य सत्कार, खुद्रा व्यापार, यातायता क्षेत्रमा काम गर्नेहरुका लागि स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा पहुँच नभएको भन्दै विश्व बैंकले कोरोना भाइरसको धक्काले दक्षिण एसियाली देशहरुमा गरिबी र असमानता अझै उच्च बनाउने चिन्ता व्यक्त गरेको छ ।

ठूलो जनसंख्या रहेको यस क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवा र खाद्यान्नको व्यवस्थापन चुनौतीपूर्ण भएपनि अहिलेसम्म ठूलो अभावको सामना गर्नु नपरेको प्रतिवेदनमा उल्लेख छ । तत्कालै स्वास्थ्य सेवा, खाद्यान्नको आपूर्ति, स्वास्थ्य सामग्री र अन्य अत्यावश्यक सेवाको आपूर्तिका लागि विश्व बैंकले सबै देशका सरकारहरुको ध्यानाकर्षण गराएको छ । 

अल्पकालको आर्थिक हानी कम गर्न, बेरोजगार प्रवासी कामदारलाई केही समय कामको जोहो गर्ने, व्यवसाय र व्यक्तिहरुलाई ऋण मिनाहा गर्ने उपाय अबलम्बन गर्ने, अन्तरक्षेत्रीय भन्सार जाँचपासलाई तीव्रता दिइ वस्तुको अयात र निर्यातलाई सहज बनाउन आग्रह गरिएको छ ।  

घरबन्दीको अवस्था खुकुलो बनाइसकेपछि, दक्षिण एसियाली देशका सरकारले विस्तारकारी वित्तिय नीति र मौद्रिक प्रोत्साहनमार्फत् अर्थतन्त्रमा सुलभ कर्जा विस्तार गरी उत्पादन र रोजगारी बढाउन सकिने दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री हान्स टीमर बताउँछन् ।

अहिले नेपाललगायत दक्षिण एसियाली देशका सरकारसँग सीमित वित्तिय स्रोत उपलब्ध छ । वित्तिय र मौद्रिक प्रोत्साहनमा कोरोनाको अत्याधिक प्रभाव देखिएका र छिटो पुनःस्थापना गर्न सकिने क्षेत्रहरुलाई प्राथमिकता दिनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय दातृ निकायसँगको समन्वय गरी धान्न नसक्ने बजेट घाटा र ऋणको भार व्यहोर्नुनपर्ने गरी अल्पकालीन खर्च बढाउने उपकरण लिन आग्रह गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.