सनसिटीमा कोरोना परीक्षण सुरु
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका- ९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु भएको छ। बुधबार बिहान ९ बजेदेखि र्यापिड डाइग्नोसिस किट(आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरिरहेको नगर प्रमुख थापाले बताए। नगर प्रमुख थापाका अनुसार बुधबार ब्लक 'ए' का २४२ जनाको परीक्षण गर्न लागिएको हो।तीनवटा टेबुलबाट परीक्षण सुरु भएको प्रमुख थापाले जानकारी दिए।
परीक्षण गर्न बाँकी रहेकाहरुको भोली परीक्षण गरिने पनि थापाले बताए। अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन् ।उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गर्न लागिएको हो।
मंगलबार अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षीया महिला र ५८ पुरुषमा कोरोना पुष्टि भएको थियो। उनीहरुको पाटन अस्पताको आइसोलेसनमा उपचार भइरहेको छ। सोमबार आरटीडी टेस्टबाट परीक्षण गर्दा तीनजनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। पुन: परीक्षण गराउँदा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो।